Logo
Logo

ग्लोबल आइएमईमा खाता खोल्दा डाटासहितको सिमकार्ड



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र एनसेल एक्जियाटा लिमिटेडबीच बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाल ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड सित्तैमा उपलब्ध गराउने समझदारी भएको छ । समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र एनसेलका कार्यकारी निर्देशक एन्डी चोङले हस्ताक्षर गरेका हुन् ।

सम्झौताअनुसार वैदेशिक रोजगारीका लागि विदेश जाने, वैदेशिक रोजगारीबाट फर्किएका नेपाली तथा उनीहरूका परिवार र बाह्य रेमिट्यान्समार्फत आय भएका नेपालीले ग्लोबल आइएमई बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोली निःशुल्क सहयात्री सिमकार्ड प्राप्त गर्न सक्ने जनाइएको छ ।

सिममा ‘ग्लोबल स्मार्ट प्लस’ प्रयोग गर्न २५० एमबी डाटा प्याक निःशुल्क उपलब्ध हुने तथा २० रुपैयाँ ब्यालेन्स, एनसेल नेटवर्कभित्र फोन गर्न २० मिनेटको टकटाइम, २० वटा एसएमएस तथा २०० एमबी डाटा प्राप्त हुने जनाइएको छ । सिम सुचारु गरिएको दुई दिनभित्र ९९ रुपैयाँभन्दा बढीको रिचार्जमा एक सय मिनेट एनसेल टकटाइम तथा एक सय एमबी डाटा पाउने बैंकले जनाएको छ ।

बैंकले ७६ जिल्लामा दुई सय ८१ शाखा, दुई सय ५१ एटिएम, दुई सय ६० शाखारहित बैंकिङ सेवा, ४८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्