Logo
Logo

वाम एकताका लागि नेकपाले बनायो वार्ता समिति


315
Shares

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले विभिन्न वाम राजनीतिक दल तथा घटकहरूसँग पार्टी एकताका लागि पहल र वार्ता अघि बढाउने भएको छ।

पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज मंगलबार बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले वैचारिक, सांगठनिक र कार्यक्रमिक रूपमा समानता भएका वाम दलहरूसँग एकताका लागि वार्ता गर्ने निर्णय गरेको हो । त्यसका लागि देव गुरुङको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरिएको छ। समितिमा प्रकाश ज्वाला र गङ्गानारायण श्रेष्ठ सदस्य छन्।

यस्तै, पार्टीको महाधिवेशन तथा अधिवेशनका विषयमा सचिवालय बैठकले आवश्यक निर्णय गर्ने भएको छ। पार्टी र जनवर्गीय संगठनको समायोजन, सदस्यता वितरण तथा नवीकरण र संगठन सुदृढीकरणका लागि दुईमहिने विशेष जनअभियान सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ । यस अभियानको विस्तृत योजना आगामी सचिवालय बैठकले तय गर्नेछ।

बैठकले रसुवा बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनामा पार्टीपंक्ति परिचालन गर्ने निर्णयसमेत गरेको छ। बाढीबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणका लागि पार्टीका तर्फबाट प्रभावकारी पहल गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रतिक्रिया दिनुहोस्