Logo
Logo

बालेनको दम्भ, रविको पीडा


819
Shares

जेनजी विद्रोहको जगमा गत फागुन २१ गते सम्पन्न चुनावमा रास्वपाले दुईतिहाइ मत ल्याउला भन्ने कुराको अनुमान रवि लामिछानेलाई पनि थिएन सायद । उनको भित्री हिसाब किताबमा सामान्य बहुमत आउने आकलन थियो होला । जति सिट आए पनि आफू प्रधानमन्त्री हुन नपाउने कुरामा उनी विश्वस्त थिए । त्यसैले उनले बालेन साहलाई पार्टी प्रवेश गराए ।

भावी प्रधानमन्त्रीका रूपमा देशव्यापी आमसभामा बालेनलाई प्रस्तुत गरे । त्यसो त रविपछिको पात्र स्वर्णिम वाग्ले थिए, उनी पदका लागि अत्यन्तै महत्वाकांक्षी व्यक्ति हुन् । पदकै लागि उनले कांग्रेस छाडेर रास्वपा रोजेका हुन् । रवि मुद्दा मामिलामा अल्झेकोले आफूलाई उनले रविको विकल्प पनि ठानेका थिए । तर, बालेन साहसँग रास्वपाको सहमति भएपछि वाग्लेको सपनामाथि ठूलो बज्रपात भयो ।

बालेन रास्वापामा प्रवेश नगरेको भए सम्भवतः रास्वपाबाट वाग्ले नै प्रधानमन्त्री बन्ने दाउमा थिए । जेनजी विद्रोहताका रवि जेलमा थिए, पार्टी वाग्लेले सम्हालेका थिए । यस कारणले पनि रवि र स्वर्णिमबीच नङ मासुको सम्बन्ध थियो । तर, बालेनलाई पार्टीमा भित्र्याएपछि वाग्लेको मुखैमा आएको प्रधानमन्त्री पद गयो ।

बालेन तराईमूलका भएकाले तराई मधेसमा पनि रास्वपाको सकारात्मक प्रभाव प¥यो । चुनावमा रास्वपाले तराई मधेसमा ‘क्लिन स्वीप’ नै ग¥यो । यो घटनाले बालेनको मनोबल यतिसम्म बढ्यो कि आफू रास्वपा प्रवेश नगरेको भए दुईतिहाइ मत आउने थिएन भन्ने उनमा घमन्ड चढ्यो । त्यसमाथि झापा–५बाट केपी शर्मा ओलीजस्ता शीर्षनेतालाई हराएपछि म भन्दा अर्को नेता यो देशमा जन्मिएको छैन भन्ने उनमा अहम् पलायो ।

तिनै बालेन अहिले देशको प्रधानमन्त्री छन् । उनले रविलाई पनि टेर्न छाडेका छन् । रास्वपाको विधानले उनलाई कस्न सकेको छैन । रविका मान्छेलाई एकपछि अर्को गरेर सिध्याउने भित्री रणनीतिमा उनी छन् । त्यसको प्रयोग उनले स्वर्णिम वाग्लेलाई जोकरफाल्तु बनाएर देखाइदिएका छन् । हिजो दुःख पर्दा रविलाई साथ दिने मान्छेहरू आज रास्वपामा अवसरविहीन बनेका छन् । बरु कुमार बेन, असिम साह, सुनिल लम्साल, सुधन गुरुङजस्ता भीड जम्मा गरेर उनले सरकार चलाइरहेका छन् ।

बालेनको यो तौरतरिका रविलाई पटक्कै मन परेको छैन । बालेन कसैसँग भेट गर्दैनन् । गुनासो र समस्या जति रविको कानमा ठोक्किन्छ । समस्या सुन्ने ठाउँमा पार्टी सभापतिको हैसियतमा उनी भए पनि समस्या समाधान गर्ने ठाउँमा बालेन छन् । बालेनसँग यिनै विषयमा रविले धेरै गुनासो गरिसके, तर परिणाम शून्यजस्तै छ । बाहिरबाट हेर्दा रास्वपाको दुईतिहाइको सरकार भए पनि पार्टीको नियन्त्रणमा सरकार छैन । सरकार रास्वपामा कुनै योगदान नभएका भूमिगत गिरोहले सञ्चालन गरिरहेको छ ।

यदि, रास्वपाको बहुमतको सरकार नभएर रवि प्रतिपक्षमा भएको भए अहिले सरकारले गरेका काम कारबाहीलाई लिएर उनले आगो ओकल्ने थिए । त्यो क्षमता उनीमा छ भन्ने कुरा २१ सिटको रास्वपालाई १८२ सिट पु¥याएबाटै स्पष्ट हुन्छ । छोटो समयमा देशभरिका युवाहरूको मन जित्न सक्नु र मै हुँ भन्ने पुराना दलका नेताहरूको पत्तासाफ गर्न सक्ने उनको हिम्मत चानचुने होइन ।

त्यत्रो हिम्मत र आँट भएका रवि आज आफ्नै पार्टीका बालेनसँग हार्नु परेको छ । यो भन्दा ठूलो पीडा राजनीतिमा अरू के हुनसक्छ ? पक्कै पनि रविले जोगी बन्नका लागि राजनीति गरेका थिएनन् । तर नियतिले उनलाई त्यहीँ बाटोमा डोहो¥याइरहेको छ ।

बालेन प्रधानमन्त्री भएपछि सरकारका बारेमा जे जस्तो आलोचना आइरहेको छ, त्यसको गुण दोषको जिम्मा पनि रवि आफैँले बोकेका छन् । गणेश परियारको आत्मदाह, कप्तानगन्ज घटनादेखि लिएर अहिलेको रसुवा बाढीपहिरोको घटनामा पनि सम्पूर्ण राजनीतिक पार्टीलाई एक ठाउँमा ल्याउन उनी सफल भएका छन् । राजनीतिमा पदमात्रै ठूलो कुरा होइन, त्याग पनि ठूलो कुरा हो भन्ने उनले बुझेका छन् ।

रविको एउटै मात्र चिन्ता बालेनका कारण सरकार दुर्घटनामा नपरोस् भन्ने हो, किनभने अहिलेको परिस्थितिमा रविले बालेनको विकल्प खोज्नु भनेको ‘कालिदास’ बन्नु हो । त्यसैले बालेनको स्वभाव मन परे पनि नपरे पनि मौन बस्नु रविको पीडा मात्र होइन, बाध्यता हो । मौनता र बाध्यताको पनि सीमा हुन्छ, जुन दिन त्यो मौनता विस्फोटमा परिणत हुन्छ, त्यो दिन बालेनको हैसियत कहाँ पुग्छ भन्ने कुरालाई पनि बालेनले हेक्का राख्नुपर्छ । अन्यथा, बालेन र रवि नदीका दुई किनारा बन्न पाँच वर्ष पनि कुर्नु पर्दैन ।

प्रतिक्रिया दिनुहोस्