Logo
Logo

अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गर्न आईटी आर्मीको माग



काठमाडौं । आईटी आर्मीले कृषि विमा लागू गर्न र अन्नदाता किसानलाई पेन्सनको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
आईटी आर्मीका राष्ट्रिय संयोजक चन्द्रभुषण साहले शुक्रबार बिज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् ।

बेमौसमी बर्षाले पीडित किसानलाई उचित राहत तथा क्षतिपूर्तिको व्यवस्था गर्न उनले सरकारसँग माग गरेका छन् । ट्याक्टरमा लाग्ने सम्पूर्ण कर खारेजी गर्न, पर्याप्त एवं सहज रूपमा कृषि ऋण उपलब्ध गराउन, पर्याप्त मल, खाद्यको व्यवस्था गर्न, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था गर्नलागयतका माग आईटी आर्मीले सरकारसँग गरेको छ ।

‘अहिलेको बेमौसमी अविरल वर्षा तथा हावाहुरीका कारण किसानले घर भित्र्याउनका लागि काटिराखेको धान पानी जमेर कुहिएको, बाढीले बगाएको तथा काट्नलाई तयार बाली हावाले भाँचिदिएपछि नष्ट भएको अवस्थालाई मध्यनजर गर्दै तत्काल उचित राहत प्याकेज तथा क्षतिपूर्तिको व्यवस्था गर्न नेपाल सरकारसहित सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँछौँ’ संयोजक साहद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

विगतमा आईटी आर्मीले किसानका हकहित रक्षाका लागि अघि सारेका मागहरुलाई पुनः एकपटक स्मरण गराउँदै उनले ती मागहरुलाई राज्यले तत्काल कार्यान्वयन नगरे पहिलेको भन्दा झन् कडा एवं सशक्त संघर्षका कार्यक्रमहरू गर्न बाध्य हुने चेतावनी दिएको छ ।

नेपाल जस्तो कृषिप्रधान देशमा लगभग सयको संख्यामा मृत्यु, तीन दर्जन जति बेपत्ता, दर्जनाँं घाईते तथा कयौँ परिवार विस्थापित र अरबौं रकम बराबरको कृषि बालिनाली, पशुपंक्षी तथा धनमालको विकराल क्षति हुँदा पनि देशमा क्रियाशील ७६१ ओटा संवैधानिक सरकारमध्ये किसानको पिरमर्का सुन्ने, बुझ्ने र पीडाको घाउमा मलहम बन्ने फुर्सद नभएको आरोप लगाइएको छ ।

‘के आफ्नो पसीना र पौरखले तपाई हामी सबैको लागि अन्न उत्पादन गर्ने श्रमजीवी किसानहरुको दुःख, पीडा र समस्याको समाधान राज्यको दायित्वभित्र पर्दैन ? मुलुकमा राजनीतिक बदलावको नाममा पटक पटक व्यवस्था परिवर्तन भयो तर हाम्रो श्रमवीर किसान दिदीबहिनी तथा दाजुभाइहरुको अवस्थामा तात्विक परिवर्तन किन आएन ? कृषिप्रधान देशमा मुलभूत रुपमा किसानको अवस्थामा क्रान्तिकारी सुधार÷परिवर्तन बिना देशको समृद्धि र विकास कसरी सम्भव हुन्छ ?’ आईटी आर्मीले प्रश्न गरेको छ ।

देशको अर्थतन्त्रको मेरुदण्डको रुपमा अनवरत क्रियाशील किसानहरुलाई कहिले अतिवृष्टि त कहिले अनावृष्टि लगायतका प्राकृतिक प्रकोप विपत्तिबाट हुने क्षतिको भरपाईको लागि उचित राहत प्याकेजको व्यवस्था, समयमैं गुणस्तरीय विउ, मलखाध र सिंचाईको प्रबन्ध, कम्तिमा योगदानको अनुपातमा सहुलियत कृषि ऋण, प्रभावकारी कृषि अनुदान एवं विमाको प्रबन्ध, कृषि उपजको प्रभावकारी भण्डारण एवं बजारीकरणको व्यवस्था तथा अन्नदातालाई सम्मान एवं प्रोत्साहन स्वरूप पेनसनको व्यवस्था गर्न नसक्ने यस्ता आधारभूत समस्याहरु समेत समाधान गर्न नसक्ने संघीय, प्रदेश र स्थानीय सरकारहरुको आवश्यकता र औचित्य के हुने भन्दै आईटी आर्मीले प्रश्न गरेको छ ।

प्रतिक्रिया दिनुहोस्