Logo
Logo

स्थानीय तह चुनावको मिति घोषणा हुँदै



काठमाडौं । तीनै तहको निर्वाचन एकै साथ गर्ने चर्चा चलिरहेको बेला सरकारले राष्ट्रियसभा र स्थानीय तहका निर्वाचन मिति घोषणाको तयारी गरेको उच्चा स्रोतले बताएको छ ।

सोमबार प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगका पदाधिकारीसँग गरेको छलफलका क्रममा आगामी मन्त्रिपरिषद् बैठकबाट राष्ट्रियसभा र स्थानीय तह निर्वाचन मिति घोषणा गरिने बताएका हुन् । तीनै तहको निर्वाचन एक साथ गर्ने विषयमा राजनीतिक दलबीच सहमति नभइसकेको अवस्थामा फागुनमा रिक्त हुने राष्ट्रियसभा सदस्य पदको निर्वाचन मिति अब बस्ने मन्त्रिपरिषद् बैठकले तोक्ने भएको छ । त्यसपछिको बैठकले स्थानीय तह निर्वाचनको मिति तोक्ने भएको हो । राष्ट्रियसभा नियमावलीअनुसार सदस्यहरुको पद रिक्त हुनु एक महिनाअघि नै निर्वाचन भइसक्नुपर्ने छ । यसप्रकार राष्ट्रियसभाको निर्वाचन माघ २१ गतेभित्र भइसक्नुपर्ने छ ।

फागुन २१ मा रिक्त हुने राष्ट्रियसभाका २१ सदस्यमध्ये एमालेका धेरै छन् । रिक्त हुनेमा नैनकला ओझा, शशिकला दाहाल, शान्ति अधिकारी, कोमल वली, उदया शर्मा, कविता बोगटी, तारादेवी भट्ट, रामलखन हरिजन, चक्रबहादुर स्नेही, खिमकुमार विक, अगम वान्तवा, जीवन बूढा, पर्शुराम मेघी गुरुङ, सुमन प्याकुरेल, राघेश्याम अधिकारी, दीनानाथ शर्मा, हृदयनारायण पाण्डे, ठगेन्द्र पुरी, शेरबहादुर कुँवर र रामनारायण बिडारी हुन् ।

त्यस्तै, २०७४ सालमा भएको स्थानीय निर्वाचनअन्तर्गत पहिलो चरणको निर्वाचन वैशाख २९ गते भएको थियो । निर्वाचन आयोगलाई ९० दिनको तयारी समय आवश्यक पर्ने कारण तीन महिनाअघि नै निर्वाचनको प्रक्रिया शुरु गर्ने प्रावधान छ । अर्थात्, वैशाख २९ मा रिक्त हुने स्थानीय तहको निर्वाचनको प्रक्रिया ढिलोमा पनि फागुन २९ गते शुरु गर्नुपर्छ । त्यसको तीन महिनाअघि सरकारले निर्वाचनको मिति घोषणा गर्नुपर्छ । यसपटक पनि स्थानीय तहको निर्वाचन तीन चरणमा गर्नुपर्ने सुझाव निर्वाचन आयोगले सरकारलाई दिएको छ । तर, ०७४ सालमा जस्तो लामो समयको अन्तरमा नभई एक चरणबाट अर्को चरणको निर्वाचनको अन्तर १० देखि १५ दिनभन्दा बढी गर्न नहुने सुझाव आयोगले दिएको आयोगस्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्