काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्ले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष निगमकै पूर्वकर्मचारी युवराज अधिकारीलाई नियुक्त गरेको छ । डेढ वर्ष अगाडि ५८ वर्षे सेवा अवधि पूरा गरेर निगमबाट अवकाश पाएका अधिकारीलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालको सिफारिसमा नियुक्त गरिएको हो ।

निगममा कार्यरत रहँदा अधिकारीले आन्तरिक अडिट, फाइनान्स डिपाटमेन्ट, जनरल सर्भिस, फ्लाइट रिभ्यू कमिटी र एचआर डिपार्टमेन्टमा निर्देशक भएर काम गरेका थिए । अधिकारीले आजै निगमको प्रधान कार्यालय न्यूरोड गएर पदभार ग्रहरण गर्ने कार्यक्रम रहेको छ ।
निगमले कार्यकारी अध्यक्ष पाएपनि कर्मचारीको आन्दोलन भने रोकिएको छैन । कर्मचारीहरु महाप्रवन्धक डिमप्रकाश पौडेलको राजीनामा माग्दै १ सय २० दिनदेखि निरन्तर आन्दोलनरत छन् । पौडेलको राजीनामा नभएसम्म आन्दोलन जारी रहने कर्मचारी युनियनले जानकारी दिएको छ ।
महाप्रवन्धक पौडेलले अर्बौ कमिसन खाने नियतले निगमलाई कम्पनी माडेलमा लगेर बेच्ने निर्णय गरेपछि कर्मचारी महाप्रवन्धक पौडेल र संचालक कसमितिका सदस्यहरुको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन् ।
नवनियुक्त कार्यकारी अध्यक्ष अधिकारीले कर्मचारीसँग मिलेर निगमको आन्तरिक व्यवस्थापन सुधार गर्ने प्रतिवद्धता जनाएका छन् । दृष्टिन्यूजसँग कुरा गर्दै अध्यक्ष अधिकारीले आफू पनि निगमकै पूर्वकर्मचारी भएकाले कर्मचारीको पीर मर्का नजिकबाट अनुभव गरेको बताए ।
निगम निजीकरणका विषयमा गरिएको एक प्रश्नको जवाफमा अध्यक्ष अधिकारीले भने– ‘खर्बौको सरकारी सम्पत्ति भएको निगम नेपालको एक मात्र ध्वजावाहक संस्था हो । यो संस्थाको शाख जोगाउनु देशकै गौरव भएकाले यस संस्थाको सम्पत्ति कौडीको भाउमा बेच्ने होइन, आन्तरिक समस्या समाधान गर्दै निगमलाई अन्य अन्तर्राष्ट्रिय ध्वजा वाहक विमान संस्थाहरु जस्तै बलियो र प्रतिस्पर्धी बनाउनुपर्छ ।’
निगमको कार्यकारी अध्यक्षका रुपमा अधिकारी प्रवेश गर्ने भएपछि महाप्रवन्धक पौडेल निगम प्रवेश गर्न नपाउँदै विदा हुनुपर्ने अवस्था बनेको छ । पौडेल चोरबाटोबाट निगम छिर्लान् कि भनेर कर्मचारी युनियनले उनीविरुद्ध आन्दोलन र धर्ना जारी राखेका छन् ।














