Logo
Logo

एमाले पालिका अधिवेशन : रुपन्देहीका अधिकांश पालिकामा सर्वसम्मत नेतृत्व चयन



रुपन्देही । नेकपा एमालेको रूपन्देहीका १६ मध्ये १२ पालिकामा अधिवेशन सम्पन्न भएको छ । बुटवल उपमहानगरसँगै १२ वटा पालिकामा एमालेले सर्वसम्मत नेतृत्व चयन गरेको हो ।

तीन वटा नगरपालिका र एउटा गाउँपालिकाबाहेक सबैमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको एमालेले जनाएको छ । तिलोत्तमा, देवदह र सिद्धार्थनगर नगरपालिका र सियारी गाउँपालिकामा अझै अधिवेशन भएको छैन । अरु पालिकामा भने अध्यक्षलगायत सबै पदमा सहमतिमै नेतृत्व चयन गरिएको एमाले रुपन्देहीका सचिवालय सदस्य तेजेन्द्र केसीले बताए ।

अध्यक्षका लागि ६ जनाले आकांक्षा देखाएको बुटवलमा किशन ज्ञवाली सर्वसम्मत रुपमा अध्यक्ष चयन भएका छन् । शोभाखर पोखरेल उपाध्यक्ष भए भने सचिव र उपसचिव भने टुंगो लागेको छैन ।

यसतै, सैनामैना नगरमा चेतनारायण न्यौपाने सर्वसम्मत अध्यक्ष चुनिएका छन् । शुद्धोधन गाउँपालिमा बिष्णु गौतमको अध्यक्षतामा सबै कार्यसमिति सर्वसम्मत चयन भएको छ ।

एमाले उपमहासचिवद्वय बिष्णु पौडेल र घनश्याम भुसालको निर्वाचन क्षेत्र पर्ने तिलोत्तमा नगरपालिकामा भने सहमति जुट्न बाँकी छ । अध्यक्षका लागि चार जना आकांक्षी रहेकाले त्यसबारे छलफल भइरहेको बताइएको छ ।

तिलोत्तमामा मीनप्रसाद पोखरेल, तामानाथ पाण्डे, सुरेन्द्र श्री र नेत्र वनको उम्मेदवारी रहेको छ । सकभर सहमतिमै नेतृत्व चयन गर्न खोजिएको छ ।
यस्तै, देवदह नगरपालिका र सिद्धार्थनगर नगरपालिकामा पनि सहमति जुट्न सकेको छैन । लुम्बिनी सांस्कृतिक नगरपालिकामा भने निसार अहमदको अध्यक्षतामा सबै नगरकमिटी सर्वसम्मत चयन भएका छन् ।

त्यस्तै, गैंडहवा र कन्चन गाउँपालिकामा पनि सर्वसम्मत नेतृत्व चयन भएको छ । गैंडहवामा भुवन रानाको अध्यक्षता र कन्चन गाउँपालिकामा दीनानाथ आचार्यको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको हो । यस्तै, कोटहिमाई गाउँपालिकामा राजकुमार गौण, ओमसतियामा ईन्द्रकुमार गुरुङ र रोहिणी गाउँपालिकामा सुनिलकुमार कौशलको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता सन्जय गुप्ताले बताए ।

यस्तै, मर्चवारिमा केशरनाथ गिरी, सम्मरिमाईमा ईनुक मुसलमान र मायादेवी गाउँपालिकामा साधुशरण साहनीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ । प्रमुख पद अध्यक्ष, उपाध्यक्ष तथा सचिवमा कुनैपनि पालिकामा महिला नेतृत्व भने आएको छैन ।

प्रतिक्रिया दिनुहोस्