Logo
Logo

रुकुम घटना : साक्षीहरुको आजबाट बकपत्र सुरु



काठमाडौं । गत वर्षको जेठ १० गते रुकुम पश्चिमको सोतीमा ६ जनाको ज्यान गएको घटनाको साक्षीको बकपत्र आजबाट सुरु हुने भएको छ ।

जिल्ला अदालतका श्रेष्तेदार कृतबहादुर बोहराले मंगलबार दुवै पक्षका साक्षीलाई हाजिर गराइएको र बुधबारबाट बकपत्र सुरु हुने जानकारी गराए । घटनाका २३ जना आरोपी पुर्पक्षका लागि कारागारमा छन् । ११ जनालाई भने तारेखमा छाडिएको थियो । बोहराका अनुसार वादीतर्फका ३९ जना र प्रतिवादीतर्फका २३ जनालाई हाजिरी गराइएको छ । उनीहरुको बकपत्र आगामी शुक्रबारसम्म गराइसक्ने बताइएको छ ।

अन्तरजातीय विवाहको विषयलाई लिएर भएको यो घटनामा संलग्न भएको आरोपमा चौरजहारी नगरपालिका–८ सोतीगाउँका ३४ जनाविरुद्ध जिल्ला अदालत रुकुम पश्चिममा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र जातीय छुवाछुत अभियोगमा मुद्दा दायर भएको छ ।

गत वर्ष जेठ १० गते सोती गाउँकी प्रेमिका भनिएकी मल्ल थरकी केटीलाई लिन जाजरकोटबाट साथीसहित गएका नवराज विकसहित ६ जनाको ‘हत्या’ भएको थियो ।

जाजरकोटको भेरी नगरपालिकाका नवराज विक, गणेश बुढा मगर, सञ्जु विक, लोकेन्द्र सुनार, गोविन्द शाही र रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का टीकाराम नेपालीलाई उक्त घटनामा अमानवीय तवरले मारिएको आरोप छ । सो घटनामा छ जनाकै शव भेरी नदीमा भेटिएको थियो ।

सो घटनाबारे छानविन गर्न नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेल (हालका शिक्षामन्त्री)को नेतृत्वमा संसदीय समिति गठन गरिएको थियो । सो समितिले सोती घटना नियोजित भएको निष्कर्ष निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्