Logo
Logo

डोटी, अछाम र बाजुरामा औषधि अभाव



डोटी । एक हप्तादेखि सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव देखिएको छ । बाढीपहिराले राजमार्ग बगाउनाका साथै अत्यावश्यक सामग्रीहरु औषधि ढुवानी गर्न नसकेका कारण जिल्ला लगायतका अछाम र बाजुरामा औषधिको अभाव भएको छ ।

यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अबरुद्ध सडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।

जिल्ला अस्पताल डोटीका चिकित्सक प्रकाश ठकुल्लाले सडक अबरुद्ध भएपछि अस्पतालमा औषधि अभाव भएको जानकारी दिए । उनले भने ‘अस्पतालको फार्मेसीमा औषधि सकिएको छ, निजी मेडिकलमा पनि छैन भन्ने आएको छ, अबको एक/दुई दिनमै ढुवानी नभए औषधिको समस्या हुने देखिन्छ ।’

जिल्लामा रहेका सरकारी अस्पतालसँगै निजी अस्पतालको अवस्था पनि उस्तै रहेको छ । पचास शय्याको सुजङ अस्पताल राजपुरमा पनि दुई दिनका लागि मात्रै औषधि रहेको उक्त अस्पतालका निर्देशक अर्जुन बलायरले जानकारी दिए । जिल्लामा अस्पताल मात्र नभई यहाँका गाउँपालिकाहरूमा पनि औषधि अभाव रहेको पाइएको छ ।

गाउँपालिकामा सामान्य प्रकारका औषधिहरु सकिएर समस्या उत्पन्न भएको बोगटान फुड्सिल गाउँपालिकाका अध्यक्ष कमलबहादुर गड्सिलाले बताए । उनले भने, ‘हाम्रो पालिकामा औषधि सकिने क्रममै थियो, अहिले बाहिरबाट औषधि आयात गर्न सक्ने अवस्था पनि रहेन औषधिको अभाव भएको छ ।’ स्वास्थ्यकर्मीका अनुसार यहाँका पहाडी जिल्लाहरुमा बाढीपहिरापछि पानीमा प्रदूषित भएपछि फैलन सक्ने रोगहरू नियन्त्रण तथा दीर्घरोगीले प्रयोग गर्दै आएका औषधिको मुख्यरुपमा अभाव देखिएको छ ।

अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालन
बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ । बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत सातादेखि बन्द थियो ।

सडक डिभिजन कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले उक्त राजमार्ग सञ्चालन गरिएपछि सहज भएको हो । राजमार्ग सञ्चालनसँगै यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा यातायातका साधन सञ्चालन भइरहेका प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले जानकारी दिए ।

अविरल वर्षाका कारण पहिरो जाँदा उक्त राजमार्गको रडुवामा कम्तीमा पनि एक सय मिटर सडक अवरुद्ध थियो । अवरुद्ध सडक मर्मत गरिएपछि राजमार्ग अस्थायी रुपमा सञ्चालनमा आएको डिभिजन सडक कार्यालय दीपायल कुल्पातेले जनाएको छ ।

सडक सञ्चालन गरिएपछि साना गाडी तथा डिजेल पेट्रोल बोकेका सवारी साधनलाई पहिलो प्राथमिक्ता दिएर यात्रा गर्न दिइएको छ । राजमार्ग अवरुद्ध हुँदा सर्वसाधारण तथा यात्रु पैदल कष्टकर यात्रा गर्न बाध्य भएका थिए ।

प्रतिक्रिया दिनुहोस्