Logo
Logo

प्रधानमन्त्री आज बेलायत जाँदै, यस्तो छ भ्रमण तालिका



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज बेलायत जाँदै छन् । प्रधानमन्त्रीको नेतृत्वमा २० सदस्यीय प्रतिनिधिमण्डल आज (शुक्रबार) बेलायत प्रस्थान गर्ने भएको हो ।

स्कटल्यान्डको ग्लास्गोमा हुन लागेको जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय खाका संरचना महासन्धि (यूएनएफसीसीसी)को २६ औं सम्मेलन (कोप–२६)मा सहभागी हुन उक्त टोली बेलायत प्रस्थान गर्न लागेको प्रधानमन्त्रीको निजि सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार प्रधानमन्त्री देउवा कात्तिक १२ गते बिहान १० बजे कतार एयरको उडानबाट लन्डन जान लागेका हुन् । प्रधानमन्त्रीमा नियुक्त भएपछि देउवाको यो पहिलो विदेश भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले अक्टोबर ३० मा नेपालका लागि सर्वदलीय संसदीय समूह (एपीपीजी–एन) र बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चले लण्डनमा आयोजना गर्न लागेको स्वागत कार्यक्रममा सहभागी भई सम्बोधन गर्नेछन् ।

प्रधानमन्त्री त्यहाँ रहँदा उनीसँग बेलायत–नेपाल समाजका प्रतिनिधि, गैरआवासीय नेपाली सङ्घ र बेलायतमा बसोबास गर्ने नेपाली समुदायका प्रतिनिधिले भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अक्टोबर ३१ गते प्रधानमन्त्री देउवाको सम्मानमा लण्डनस्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । उनले भूतपूर्व गोर्खा सङ्गठनका प्रतिनिधि, बेलायती संसद्का सदस्य र अन्य नेपाली प्रवासी सदस्यसँग भेटघाट गर्ने कार्यक्रम तय भइको छ।

प्रधानमन्त्री देउवा नोभेम्बर १ मा कोप–२६ को औपचारिक उद्घाटन समारोहमा सहभागी हुनेछन् । उनले वल्ड लिडर समिटमा नेपालकोतर्फबाट सम्बोधन गर्ने र्काक्रम रहेको छ । सोही दिन साँझ उहाँ बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सहभागी राष्ट्र र सरकार प्रमुखको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री देउवाले सो अवसरमा राष्ट्र र सरकार प्रमुख तथा अन्य विशिष्ट व्यक्तिसँग द्विपक्षीय भेटवार्ता गर्नेछन ।

नोभेम्बर २ को बिहान प्रधानमन्त्री जोनसन र स्कटल्याण्डका प्रथम मन्त्रीले सीमित राष्ट्राध्यक्ष तथा सरकार प्रमुखका लागि आयोजना गर्ने ब्रेकफास्ट रिसेप्सनमा पनि सहभागी हुने मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले नोभेम्बर ३ तारेखमा स्कटल्याडको इडिनबर्गस्थित रोयल बोटानिक गार्डेनको भ्रमण गरी त्यहाँ भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साथै नेपाली बगैँचामा बिरुवा पनि रोप्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री देउवा नेतृत्वको प्रतिनिधिमण्डलमा वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवलगायत सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन् । उनी बेलायतबाट नोभेम्बर ३ गते स्वदेश फर्कने र नोभेम्बर ४ तारेख बिहान स्वदेश आइपुग्नुहुनेछ । कोप–२६ अक्टोबर ३१ देखि नोभेम्बर १२ सम्म संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजना हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्