Logo
Logo

ओली र रावलबीच बैठकमै चर्काचर्की



काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष भीम रावलबीच चर्काचर्की भएको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा आज बसेको बैठकमा १० बुँदे सहमति कार्यान्वयनका विषयलाई लिएर ओली र रावलबीच चर्काचर्की भएको हो ।

बैठकमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार ओली र रावलबीच चर्काचर्की भएपछि अर्का उपाध्यक्ष अष्टलक्ष्मी शाक्य र अनुशासन आयोगका अध्यक्ष अृमत कुमार बोहराले शान्त बनाएका थिए ।

बैठकमा उपाध्यक्ष रावलले पूर्वसहमती अनुसार १० बुँदे कार्यान्वयन भएको गुनासो गर्दैगर्दा बीचमै ओलीले रोकेका थिए । रावलले प्रश्न उठाउँदै गर्दा ओलीले हस्तक्षेप गर्दै १० बुँदे सहमतीको औचित्य सकिसकेको जवाफ दिएका छन् ।

रावलको कुरा पुरा नहुदै बीचमै रोकेका अध्यक्ष ओलीले भने, ‘तपाईंले सक्नु भएन राजीनामा दिनु भयो त म के गरौँ ? अब राजीनामा दिएपछि कार्यदल पनि सकियो, १० बुँदेको उपदेयता पनि सकियो । किन कार्यदल चाहियो ? तपाईंले राजीनामा दिएपछि कार्यदल नै सकियो ।’

पार्टीभित्र कुनै समस्या देखिएमा अब सो समस्याको बारेमा पार्टी बैठकमै छलफल हुने उनले बताए । अब कुनै कार्यदलको अहिले आवश्यकत्ता पनि नभएको बताउँदै अध्यक्ष ओलीले पार्टीको समस्याका विषयमा पार्टीका कमिटीहरुमै छलफल गर्न निर्देशन समेत दिए ।

जवाफमा रावलले आफूले नसकेर राजीनामा दिएको नभई आफ्नो कुरा कार्यान्वयन नभएपछि राजीनामा दिएको बताएका थिए ।

सोहीबीच ओली निकटका केन्द्रीय सदस्यहरुले स्थायी कमिटीको समस्या स्थायी कमिटीमै समाधान गर्न भन्दै चर्को रुपमा हुटिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्