काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा मागेका न्यायाधीशहरू शुक्रबार पनि इजलास गएनन् । इजलास नचल्दा बन्दी प्रत्यक्षीकरणलगायतका मुद्दा प्रभावित बनेका छन् । समाधानको पहल नहुँदा न्यायपालिकामा देखिएको समस्या झनै लम्बिँदै गएको छ ।
प्रधानन्यायाधीश राणाले शुक्रबारका लागि संयुक्त र एकल गरी १० वटा इजलास तोकेका थिए । प्रधानन्यायाधीशसहित न्यायाधीश कुमार चुडालको संयुक्त इजलास तोकिएको थियो । त्यो इजलाससमेत बस्न सकेन ।
सर्वोच्चका न्यायाधीशहरूले मुद्दा नहेरेपछि उनीहरूविरुद्ध तीनवटा रिट निवेदन पेस भएका छन्। ती निवेदन दर्ता हुनेरनहुने आइतबार निक्र्योल हुने सर्वोच्च प्रशासनले जनाएको छ ।
यता नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश राणाले राजीनामा नदिए देशभर आन्दोलन गर्ने भएको छ । बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको कार्यसमिति बैठकले उपत्यका बार एकाइसमेतको सुझावअनुसार कालोपट्टी बाँध्नेसम्मका कार्यक्रम सार्वजनिक गरेको छ । प्रधानन्यायाधीशले विकृति, विसंगति र भ्रष्टाचार रोक्न, न्यायपालिकाको स्वच्छता तथा गरिमा कायम राख्न नसकेकाले राजीनामा मागिएको बारले जनाएको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।














