Logo
Logo

पचास वर्षदेखि पौवामा दुग्धजन्य परिकार उत्पादन



काभ्रेपलाञ्चोक । दुग्ध विकास संस्थानले विगत ५० वर्षदेखि दूर्गम मानिने रोशी गाउँपालिका–११ जुगेपानीस्थित पौवामा दुग्धजन्य परिकार उत्पादन गर्दै आएको छ ।

संस्थानले पौवामा दुग्ध पदार्थ उत्पादन तथा बिक्री वितरण केन्द्र स्थापना गरी चिजलगायत दुग्धजन्य परिकार उत्पादन गरी सङ्कलन गर्दै आएको हो ।

विसं २०२७ मा काभ्रेपलाञ्चोकको साविक भिमखोरी गाविस-१ मा स्थापित उक्त केन्द्रले चीज, मखन, पनिर, नौनीलगायत दुग्धजन्य परिकार उत्पादन गरी मासिक रु १५ लाखको कारोबार गर्दै आएको जनाइएको छ ।

यसरी उत्पादित सामग्री काठमाडौँस्थित संस्थानको केन्द्रीय कार्यालय लैनचौरमा बिक्री–वितरणका लागि पठाइँदै आइएको केन्द्रका कर्मचारी जीवन श्रेष्ठले बताए ।

उक्त केन्द्रले पौवा तथा आसपासका उच्च पहाडी गाउँबाट दूध सङ्कलन गर्दै आएको छ । केन्द्रमा भिमखोरीको पौवा, कातारचे, केराबासी, सोरे तथा छिमेकी जिल्ला सिन्धुलीको रामभेडालगायतका गाउँ र आसपासका कृषि अनुसन्धान सहकारी, धर्मेश्वर दुग्ध सहकारी, महाभारत कृषि सहकारी र स्थानीय सौभाग्य महिला सहकारीलगायत आठ सहकारी संस्थाबाट दैनिक ७५० देखि ८०० लिटरसम्म दूध सङ्कलन हुने गरेको श्रेष्ठले जानकारी दिए ।

केन्द्रबाट दैनिक ११५ किलो पनिर, ७५ किलो चीज, १८ किलो हाराहारीमा मखन उत्पादन हुने गरेको जनाइएको छ । पौवा रोशीको उच्च पहाडी भेग भएकाले सबै क्षेत्रमा यातायातका साधनको पहुँच नभएकाले केन्द्रमा स्थानीय तथा खच्चडबाट दूध सङ्कलन गरिँदै आइएको छ । “दुध ढुवानी गर्ने, स्थानीय व्यक्ति र खच्चरधनीलाई सहकारीमार्फत मासिक ज्याला दिने गरिन्छ”, केन्द्र प्रमुख प्रकाश केसीले भने । उनका अनुसार यहाँ उत्पादित परिकार गुणस्तरीय भएकाले स्थानीयले समेत खरिद गर्ने गरेका छन् ।

केन्द्र स्थापनापछि स्थानीय गाउँमा गाई-भैँसी पाल्ने कृषकको सङ्ख्या बढेको कृषक सुरेश कर्माचार्यले बताए । ‘यस भेगमा उत्पादित दूध कहिल्यै खेर जाँदैन, सबै केन्द्रले लिने गरेको छ, यसकारण पहिलेभन्दा धेरै कृषकले गाई-भैँसी पाल्दै आएका छन्’ उनले भने । उनका अनुसार केन्द्रले दुध लिँदा दुर्गमका कृषकलाई गाईभैँसी पालेर आर्थिक उपार्जनमा निकै ठूलो मद्दत पु¥याइरहेको छ ।

एघार रोपनी जमिनमा अवस्थित केन्द्रका छ भवन छन् । केन्द्रका विभिन्न भौतिक संरचना जीर्ण बन्दै गएकाले मर्मत–सम्भारका एवं पुनःनिर्माणका लागि केन्द्रीय कार्यालयमा बजेट माग गरिएको प्रमुख केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्