Logo
Logo

महिला उद्यमीलाई मेगा बैंकको सहुलियतपूर्ण कर्जामा प्राथमिकता



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्नवर्ग, महिलाद्वारा सञ्चालित लघु, घरेलुका साथै साना तथा मझौला उद्यम व्यवसायहरुलाई प्रवद्र्धन गर्ने उद्देश्यले महिला उद्यमी संघ नेपाल, कास्कीसँग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र महिला उद्यमी संघ नेपाल कास्कीका अध्यक्ष पार्वतीकुमारी पौडेल रेग्मीले हस्ताक्षर गरेका हुन् । सम्झौतापश्चात बैंकले संघसँग आवद्ध उद्यमी महिलालाई आफ्नो व्यवसाय विस्तार गर्नका लागि साना तथा मझौला कर्जा एवं नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा निर्देशिका र बैंकको सहुलियतपूर्ण ब्याज अनुदान कर्जा कार्यविधिको अधिनमा रही सहुलियतपूर्ण कर्जा प्रदान गर्नेछ ।

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत खुञ्जेलीले महिला उद्यमीलाई सहुलियतपूर्ण छिटो छरितो ढंगले कर्जा प्रदान गरिने बताइन् । महिला उद्यमीहरुलाई साना तथा मझौला उद्यमी कर्जाका साथै मेगा सरल कर्जा, लघु, घरेलु तथा साना उद्योग कर्जा र सवारी साधन तथा घर निर्माण कर्जामा पनि प्राथमिकता दिइने उनले बताइन् ।

संघकी अध्यक्ष रेग्मीले मेगा बैंकले महिला उद्यमशील कर्जालाई प्राथमिकताका साथ प्रवाह गर्दै आएकोले बैंकसँग सहकार्य गरेको जानकारी दिइन् । मेगा बैंकले कर्जाका साथ साथै महिला उद्यमीलाई वित्तीय साक्षरता पनि प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्