
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले नेवा समुदायबाट उत्पन्न भए पनि नेपाल सम्वत सम्पूर्ण नेपालीको मौलिक सम्बत भएको बताएका छन् ।
शङ्खधर साख्वाले न्याय, समानता र भातृत्वमा आधारित आन्दोलन शुरु गरेको बताउँदै मन्त्री भुसालले गणतन्त्रस्थापन भएपछिको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रुपमा निर्णय गरेको जानकारी दिए ।
नेपाल सम्बत ११४२ का अवसरमा गोदावरी नगरपालिका–१४ द्वारा आज आयोजित शुभकामना आदानप्रदान तथा र्यालीलाई सम्बोधन गर्दै मन्त्री भुसालले भने, ‘प्रचण्ड नेतृत्वको पहिलो सरकारको क्याविनेटबाट नेपाल सम्बतलाई राष्ट्रिय सम्बत घोषणा गरेको थियो, त्यतिखेर म सामान्य प्रशासनमन्त्री थिए ।’
यस्ता अधिकार प्रतिगमनकारीले खोस्नसक्नेतर्फ सचेत रहनुपर्नेमा जोड दिँदै उहाँले प्रतिगमनको विपक्षमा अग्रगमनको पक्षमा निरन्तर लाग्न जनतासमक्ष अपिल गरे ।
सङ्घीयताले देश टुक्राउँछ भन्ने राजनीतिक सोच राख्ने राजनीतिक दलका कारण पनि नेपाल सम्वतलाई राष्ट्रिय सम्वतका रुपमा देशभर कार्यान्वन गर्न नसकिएको स्मरण गर्दै उनले भने, ‘पहिचानसहितको सङ्घीयता कार्यान्वयनका लागि निरन्तर सङ्घर्ष आवश्यक छ ।’
आफू निरन्तर जनताको पक्षमा रहेको भन्दै उनले जनताको चाहना बाहिर गएर कुनै पनि निर्णय नगर्ने स्पष्ट पारे ।














