
काठमाडौं । सत्तारुढ गठबन्धनमा आवद्ध दलहरुले परिस्थिति हेरेर मात्र न्यायालय विवादको विषयमा धारणा बनाउने भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ दलका शीर्ष नेताको बैठकमा प्रधानन्याधीशका कारण उत्पन्न समस्याबारे छलफल भएको छ । तर, के गर्ने भन्ने विषयमा बैठकले केही निष्कर्ष निकाल्न सकेन ।
प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले नै यस विषयमा धारणा बनाउन नहुने धारणा राखेका थिए । अन्य दलले भने परिस्थिति जटिल मोडमा पुग्न लागेको भन्दै यस विषयमा छिट्टै धारणा तय गर्नु नै उपयुक्त हुनेमा जोड दिएका थिए ।
छलफलमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री देउवाले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अहिलेकै अवस्थामा रहन दिनुपर्ने आशयको धारणा राखेका थिए । ती नेताले भने– ‘प्रधानन्यायाधीशबारे प्रधानमन्त्री देउवाले केही उदारभाव राखेको देखियो । उहाँले न्यायालय विवादको विषयमा कुरा गर्न नै मान्नु भएन । त्यसैले खास केही निर्णय हुन सकेन । तर, परिस्थिति हेरेर निर्णय गर्नेसम्मको छलफल भने भयो ।’
ती नेताका अनुसार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यस विषयमा कुरा राखेका थिए । दाहाल र नेपालले न्यायालय विवादले देशमा फरक संकट निम्तन सक्ने धारणा राखेका छन् ।
सत्तारुढ दलको बैठकमा न्यायालय विवादबारे छलफल भए पनि बैठकबाट बाहिरिने क्रममा भने नेताहरुले विषय प्रवेश नै नभएको प्रतिकृया दिएका छन् ।
न्यायालय विवादबारे गठबन्धनमा आवद्ध दलहरुबीच आन्तरिक रुपमा छलफल जारी छ । नेकपा एकीकृत समाजवादीले यसअघि नै गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गरेर धारणा बनाउने औपचारिक निर्णय गरिसकेको छ भने माओवादी अध्यक्ष प्रचण्डले पनि पार्टीका शीर्ष नेताहरुसँग छलफल चलाएका छन् । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि न्यायालय विवादबारे छिट्टै धारणा बनाउनुपर्नेमा जोड दिँदै आएका छन् ।
राजनीतिक दलहरुले आन्तरिक रुपमा प्रधानन्यायाधीशलाई मार्गप्रशस्त गर्न आग्रह गर्ने, नमाने महाअभियोगबाट भए पनि हटाउने विषयमा छलफल गर्दै आएका छन् । तर, प्रधानमन्त्री देउवा भने प्रधानन्यायाधीशलाई पूर्ण कार्यकाल काम गर्न दिने पक्षमा देखिन्छन् ।











