काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीले सञ्चालन गरेको जनयुद्ध कुनै लहडमा नभएको बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नेकपा विप्लव समूहका नेता तथा कार्यकर्तालाई पार्टी प्रवेश गराउँदै उनले भने, ‘कसैले चाहँदैमा, लहड चल्दैमा क्रान्ति हुने पनि होइन । जनयुद्ध कुनै लहड थिएन ।’ उनले माओवादी पङ्क्ति एक्लाएक्लै अगाडि जाँदा क्षतविक्षत हुने खतरा पनि औँल्याए ।
अध्यक्ष दाहालले पार्टी एकताका लागि पूर्वमाओवादी नेताहरुसँग निरन्तर छलफल भइरहेको पनि जानकारी दिए । उनले भने, ‘किरण (मोहन वैद्य)को अर्को पार्टी बन्यो, चल्ने कुरो भएन । विप्लव (नेत्रविक्रम चन्द) को बन्यो, तपाईंहरु नै भुक्तभोगी बनेर आउनुभएको छ । हुने कुरा थिएन । त्यो त्यति सजिलो कुरा थिएन ।’
ढिलोछिटो विप्लव पनि माओवादी केन्द्रमा आउने विश्वास अध्यक्ष दाहालको थियो । उनले भने, ‘छुट्टै बसेरभन्दा सँगै बसेर क्रान्ति सम्पन्न हुन्छ । अहिले कुरा पनि चलिरहेको पनि छ । एक्लै प्रयास गर्दा नियत जे भए पनि नियतिले क्षतविक्षत हुनेबाहेक अरु विकल्प छैन ।’
अध्यक्षले एउटै समयमा थुप्रै नेतृत्व जन्मन नसक्ने भन्दै माओवादी आन्दोलन र आफूलाई प्रतिक्रान्तिकारीले सिध्याउन खोजेको बताए । ‘प्रतिक्रान्तिकारीले अहिले पनि हाम्रा आन्दोलनका उपलब्धि उल्ट्याउने अभियानमा लागेको र तारो माओवादी आन्दोलन भएको छ’, उनले भने ।











