मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको यात्रुवाहक विद्युतीय माइक्रोबस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ । ज्यान गुमाउनेमध्ये ११ जनाको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जनाको पहिचान खुलेको हो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा ज्यान गुमाउने ११ जनाकै पहिचान खुलेको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा ज्यान गुमाउनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डलसहित सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका १० जना रहेका छन् ।
अरु मृतकमा २६ वर्षीय विकेश यादव, ३५ वर्षीया पुनम यादव, ७ वर्षीया दीक्षा यादव, ५ वर्षीया दीपिका यादव, १० वर्षीया अनुकुमारी यादव, ३५ वर्षीय गुड्डु यादव, ३० वर्षीया गायत्री देवी, २५ वर्षीय रामदुलार यादव, २५ वर्षीय सुबोध यादव र १५ वर्षीय रोहन यादव रहेका छन् ।
घाइतेमध्ये ३४ वर्षीय मुकेश यादव, ५ वर्षीय सक्षमकुमार यादव र २६ वर्षीय देवेन्द्र राय उपचारपछि डिस्चार्ज भएका छन् । तीन वर्षीय सुजन यादव र १४ महिनाका सुदिप यादवलाई थप उपचारका लागि काठमाडौँस्थित मेडिसिटी अस्पताल र ३१ वर्षीय बेचु भनिने देवेन्द्र रायलाई भरतपुरस्थित मनकामना अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ ज ०८८० नम्बरको विद्युतीय माइक्रोबस बिहीबार बिहान करिब ५ः४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा सडकबाट खसेर दुर्घटना भएको थियो। गाडीमा चालकसहित १४ जना सवार रहेको प्रारम्भिक विवरणमा उल्लेख छ।
दुर्घटनालगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धारमा खटिएको थियो । घटनास्थलमा थप खोज तथा उद्धार कार्यसमेत गरिएको प्रहरीले जनाएको छ ।


















