काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत बाँकेमा निर्वाचनको महोल तात्तेको छ । निर्वाचनको पूर्वसन्ध्यामा कांग्रेस नेता, कार्यकर्ताहरु भोट माग्न क्रियाशील सदस्यका घर घरमा पुगिरहेका छन् । बाँकेमा आइतबार ८१ वटै वडामा निर्वाचन सम्पन्न हुँदैछ । उक्त निर्वाचनका लागि मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई शुक्रबार नै खटाइएको छ ।
निर्वाचन सामग्री हस्तान्तरण गरेर कार्यक्षेत्रमा खटाइएको जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराईले जानकारी दिए । ‘निर्वाचन सम्पन्न गर्नका लागि ध्यान दिनुपर्ने कुराबारे उहाँहरुलाई अभिमुखीकरण गरियो, त्यसपछि सबैलाई निर्वाचन सामग्री दिएर कार्यक्षेत्रमा पठाउने काम भइसकेको छ,’ उनले नागरिकसँग भने ।
निर्वाचन सामग्री हस्तान्तरण गर्नुअघि अभिमुखीकरण गरिएको थियो । अभिमुखीकरणमा जिल्लाका ८ वटै स्थानीय तहका ८१ वटा वडाबाट मतदान अधिकृत र सहायक मतदान अधिकृत सहभागी भएका थिए । अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै निर्वाचन अधिकृत भट्टराईले नेपाली कांग्रेसको १४ औं महाधिवेशनको निर्वाचन सम्पन्न गर्ने ठुलो जिम्मेवारी मतदान अधिकृत र सहायक मतदान अधिकृतको काँधमा आएको बताए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।











