Logo
Logo

कांग्रेसले पछिल्लो कार्यतालिकाअनुसार नै महाधिवेशन सम्पन्न गर्ने


189
Shares

काठमाडौं । नेपाली कांग्रेसले पछिल्लो पटक संशोधन गरिएको कार्यतालिका आधारमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने जनाएको छ ।

पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले मंसिर २४ देखि २६ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने गरि निर्वाचन समितिले तय गरेको कार्यतालिकालाई अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस प्रवक्ता बिश्वप्रकाश शर्माले आइतबार बस्ने पार्टीको केन्द्रीय कार्यसमिति बैठकले पछिल्लो पटक संशोधित कार्यतालिकालाई अनुमोदन गर्ने जानकारी दिए ।

त्यस्तै बैठकमा महाधिवेशन सम्पन्न गर्नका लागि बिभिन्न तयारी समितिहरु पनि गठन गर्ने बिषयमा छलफल भएको र केन्द्रीय समितिले त्यसलाई अन्तिम रुप दिने शर्माले बताए । केन्द्रीय समितिले महाधिवेशनको कार्यतालिका अनुमोदन गरेपनि महाधिवेशनका बिषयमा देखिएका अन्यौलता अन्त्य हुने उनले बताए ।

त्यस्तै यसअघि रोकिएको प्रदेशसम्मको अधिवेशन पनि तोकिएको समयमा नै हुने कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता विवादका कारणले ढिलाइ भएका १३ जिल्लाको वडा अधिवेशन पनि शनिबारबाटै सुरु भएको छ ।

यद्यपि सर्लाहीमा पार्टीका निर्वाचन अधिकृतले राजिनामा दिएका कारण वडा अधिवेशन हुनेमा अन्योल कायमै छ । कांग्रेसको निर्वाचन समितिले कात्र्तिक ११ गते महाधिवेशनको संशोधित कार्यतालिका प्रकाशित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्