काठमाडौं । घोराही उपमहानगरपालिकाले २०७७ फागुन १३ गते आफू मातहतका करार स्वास्थ्यकर्मीलाई हटाउने आशयको पत्र काट्यो । जनस्वास्थ्य कार्यालयबाट वर्थिङ सेन्टरका लागि लिइएका नर्सिङ समूहका दसजना र उपमहानगरपालिकाले आफैं राखेका दुईजना एमबिबिएस डाक्टरबाहेक अन्यको करार अवधि पूरा भएको सूचना उपमहानगरको थियो ।
यो पत्रअनुसार उपमहानगरका वडामा सञ्चालित सहरी स्वास्थ्य केन्द्रमा कार्यरत करार स्वास्थ्यकर्मीको जागिर नरहने भन्ने थियो । तर करारमा कार्यरत सहरी स्वास्थ्य केन्द्रका करार कर्मचारीलाई हटाउन नहुने भन्दै नगरको कार्यपालिका बैठकमा छलफल भएपछि उनीहरूलाई काममा निरन्तरता दिने भन्ने कुरा भयो ।
एक कर्मचारी भन्छन्, ‘कार्यपालिकाको बैठकमा भएको छलफलपछि वडाध्यक्षले पनि हामीलाई काममा जानुस् भनेर सुनाउनुभयो, अनि उपमेयरज्यूले पनि नहटाउने कुरा गरेपछि हामीहरू कार्यालयमा हाजिर भइरह्यौं।’
उपमहानगर–१५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले पनि उनीहरूलाई काममा हाजिर गराउने भन्दै गाउँपालिकामा मौखिक कुराकानी भएको थियो । सोहीअनुसार उनीहरू फागुनयता दिनहुँ हाजिर भइरहेका थिए ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।











