काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औं महाधिवेशनमा पार्टी सभापतिमा उम्मेदवारी दिनबाट कसैले रोक्ने नसक्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता सिंहले आगामी दिनमा राष्ट्रिय राजनीति हाँक्न कांग्रेसको १४औं महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवारको रूपमा उभिने बताएका हुन् ।
उनले १३औं महाधिवेशनपछि कांग्रेस कमजोर भएको र कांग्रेस कमजोर भएको मौकामा कम्युनिष्टले दुईपटक संसद भंग गरेकोे आरोप लगाए । उनले प्रजातन्त्र बचाउन पनि पार्टीको नेतृत्व सक्षम व्यक्तिको हातमा पु¥याउनुपर्ने बताए । त्यस्तै, नेता सिंहले पार्टी कार्यालय हुँदाहुँदै सभापति शेरबहादुर देउवाको घरमा पार्टी केन्द्रीय कार्य समितिको बैठक राखेकोमा असन्तुष्टि व्यक्त गरे ।
उनले बूढानीलकण्ठ नदेखेको झैं गरेर सभापति देउवाले आफ्नै निवासमा आइतबार केन्द्रीय कार्य समितिको बैठक बोलाएकोमा आपत्ति जनाए । त्यस्तै उनले विधि र नियम उल्लंघन गरेर पार्टी नेतृत्वले सधैं कार्यकर्तालाई अन्याय गरेकाले आफूहरुले राजनीतिक न्यायको खोजी गर्नु परेको बताए ।












