काठमाडौं । नेपाली कांग्रेसका नेता गगनकुमार थापाले अदालत स्वतन्त्र रहनुपर्ने र न्यायालय शुद्ध हुनुपर्ने बताएका छन् ।
सोमबार नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं महानगरपालिका समितिका पदाधिकारी र सदस्यको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै नेता थापाले अहिले अदालतमा ठूलो समस्या देखिरहेको भन्दै यसलाई स्वतन्त्र र शुद्ध राख्नुपर्नेमा जोड दिएका हुन् ।
त्यस्तै उनले नेपाली कांग्रेसले राष्ट्रिय निर्णय गर्दा एक ठाउँ चुक्यो भने मतदाताले मत नहाल्ने र दण्ड दिने भएकाले मतदाता जोगाउनु पर्ने बताए । स्वतन्त्र न्यायपालिका र न्यायालयको लागि कांग्रेस लड्छ भन्ने कुराको विश्वास गरेर मतदाताले रूख चिन्हमा मत हाल्ने उनले बताए ।
त्यस्तै उनले कांग्रेस आगामी निर्वाचनमा भोट माग्न जाँदा मतदातालाई चुनाव जितेको ५ वर्षमा कांग्रेसले गर्ने कामको सूची बनाएर जानुपर्ने बताए । उनले आगामी निर्वाचनमा ३५ लाख नयाँ मतदाताले पहिलो पटक रुखमा मतदान गर्ने भन्दै मतदाताले रुखमा किन मत हाल्ने भन्ने प्रश्नको उत्तर नेपाली काँग्रेसले लिएर जानुपर्ने उल्लेख गरे ।












