Logo
Logo

नीति थाँती राखेर नेतृत्व चयन गर्दै कांग्रेस


945
Shares

काठमाडौँ । कांग्रेसले आसन्न १४औँ महाधिवेशनमा नीति र कार्यक्रमलाई थाँती राखेर नेतृत्व मात्रै चयन गर्ने भएको छ । मंसिर अन्त्यमा निर्वाचित हुने केन्द्रीय कार्यसमितिले अधिवेशन बोलाएर नीति तथा कार्यक्रम तय गर्ने निर्णय कांग्रेसले गरेको छ । महाधिवेशनका लागि समय कम भएकाले नेतृत्व मात्रै चयन गर्न लागिएको प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन् ।

महाधिवेशनका लागि कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा मूल तयारी समिति गठन गरेको छ । अर्थ संकलनमा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, भोजन तथा आवासको सम्बन्धमा केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डे, विदेशी पाहुना स्वागत तथा व्यवस्थापनमा सहमहामन्त्री डा. प्रकाशशरण महत, प्रचारप्रसार समितिमा प्रवक्ता विश्वप्रकाश शर्माले जिम्मा पाएका छन् । उद्घाटन समारोह तथा मञ्च व्यवस्थापन समितिको जिम्मा काठमाडौं जिल्ला सभापतिले पाएका छन् । समितिमा ललितपुर र भक्तपुरका सभापति सदस्य रहने छन् ।

कांग्रेसले स्वास्थ्य समितिको संयोजकमा केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत, सांस्कृतिक समितिको संयोजकमा केन्द्रीय सदस्य सीता गुरुङ र स्वयंसेवक मूल समितिको संयोजक धनबहादुर मास्के राना तोकिएका छन् । समितिका सदस्य संयोजकले आवश्यकता अनुसार मनोनित गर्ने अधिकार दिइएको छ । समितिका सदस्य संयोजकले आवश्यकता अनुसार मनोनित गर्ने अधिकार दिइएको छ ।

कांग्रेसले सातवटै प्रदेश अधिवेशन सम्पन्न गर्न केन्द्रीय नेतालाई जिम्मेवारी तोकेको छ । प्रदेश १ मा कृष्णप्रसाद सिटौला, प्रदेश २ मा रमेश रिजाल, बागमतीमा प्रकाशमान सिंह, गण्डकीमा गोपालमान श्रेष्ठ, लुम्बिनीमा बालकृष्ण खाण, कर्णालीमा जीवनबहादुर शाही र सुदूरपश्चिमा दिलेन्द्रप्रसाद बडूलाई जिम्मा दिइएको छ ।

पौडेल असन्तुष्ट


वरिष्ठ नेता रामचन्द्र पौडेलले क्रियाशील सदस्यताको विवाद समाधान नभएको भन्दै असन्तुष्टि जनाएका छन् । क्रियाशील सदस्यताको विवाद समाधान गरेर मात्र अधिवेशन गर्नुपर्ने धारणा उनले बैठकमा राखेका हुन् । पौडेलले बैठकमा प्रश्न गरेका छन्–सानेपाबाट भाग्नुपर्ने अवस्थामा कसरी प्रस्ताव पारित हुन्छ ? पार्टी कार्यालयमा कार्यकर्ता अनसन बसिरहेको विषयमा पौडेलले बैठकको ध्यानाकर्षण गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्