वीरगञ्ज । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावलाई बैकल्पिक रूपमा समाधान गर्न बैंकहरूले कर्जा निक्षेप अनुपात (सीडी रेसियो) बढाउन माग गरेका छन् । हाल सीडी रेसियो ९० प्रतिशतसम्म हुनुपर्ने व्यवस्था छ, त्यसलाई बढाएर ९२ प्रतिशत पु¥याउन बैंकहरूले माग गरेका हुन् ।
नेपाल राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा गर्ने तयारी गरिरहेको सन्दर्भमा नेपाल बैंकर्स संघको टोलीले गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर यस्तो माग गरेका हो ।
राष्ट्र बैंकले चालू आवको मौद्रिक नीतिमार्पmत ८५ प्रतिशतको सीसीडी रेसियो खारेज गरेर सीडी रेसियो लागू गरेको थियो, जुन ९० प्रतिशतभित्र हुनुपर्ने व्यवस्था छ । त्यसलाई बढाएर ९२ प्रतिशत पुर्याउन माग गरिएको संघका सदस्य तथा माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइरालाले जानकारी दिए ।
हाल बैंकहरूको सीडी रेसियो ९० प्रतिशतको हारहारीमै छ । गत सोमवार सीडी रेसियो ९० दशमलव १४ प्रतिशत पुगेको थियो । यसरी बैंकहरू नयाँ कर्जा प्रवाह नै नगर्ने अवस्थामा पुगेपछि बैंकहरूले यस्तो माग गरेका हुुन् । बैंकहरूले वैकल्पिक रूपमा सीडी रेसियो बढाउन माग गरेको कोइरालाको भनाइ छ ।
उनले भने, ‘तत्काल बैंकहरूमा नयाँ निक्षेप आउने देखिएन । तसर्थ, वैकल्पिक रूपमा सीडी रेसियो बढाउन माग गरेका हौं । आगामी आवसम्म त अवस्था पनि सामान्य हुन्छ होला, त्यसपछि नयाँ मौद्रिक नीतिमार्पmत सीडी रेसियो ९० प्रतिशत हुने व्यवस्था गरे हुन्छ ।’, यो समाचार आर्थिक अभियान दैनिकबाट साभार गरिएको हो ।












