Logo
Logo

ए डिभिजन लिग : सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरीमा



काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेलेका छन् ।

शुक्रबार भएको उद्घाटनमा नवप्रवेशी क्लब सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् । पहिलो हाफमा सातदोबाटोले बल पोसेसनमा पकड जमाएको थियो । तर, गोल निकाल्न सकेन ।

खेलको ७६ औं मिनेटमा फ्रेन्ड्स १० खेलाडीमा समेटिएको थियो । डिफेन्डर रोनिल एन्थोनी पाउलले दुई पहेलो कार्डसहित रातो कार्ड पाएपछि फ्रेन्ड्स १० खेलाडीमा सिमित भएको हो । खेलको इन्जुरी समयमा सातदोबाटोले गोलको सुनौलो मौका गुमायो ।

उसका सुशील राईको प्रहार गोललाइन नजिकैबाट फ्रेन्ड्सका कप्तान सुरजले बचाए । यस बराबरीसँगै सातदोबाटो र फ्रेन्ड्सले पहिलो खेलमा १÷१ अंक पाएको छ । लिग अन्तर्गत शनिबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा च्यासल युथ क्लब र थ्री स्टार क्लबबीच खेल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्