Logo
Logo

कचनकवलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २९ लाख सहयोग


126
Shares

झापा । कचनकवल गाउँपालिकाले रसुवा बाढी पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २९ लाख छ हजार १०० सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

The current image has no alternative text. The file name is: pm-.jpg

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत स्काइ पोखरेलका अनुसार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक एवं कर्मचारीका तर्फबाट सो रकम एकमुष्ट रूपमा कोषमा दाखिला गर्न लागिएको हो ।

विपद् व्यवस्थापन कोषबाट रु एक लाख, जनप्रतिनिधिका तर्फबाट रु ७१ हजार, सम्पूर्ण गाउँपालिका कर्मचारीका तर्फबाट रु नौ लाख २२ हजार ५२४ र सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीका तर्फबाट रु १८ लाख १२ हजार ५६७ गरी कुल रु २९ लाख छ हजार १०० उपलब्ध गराउने निर्णय गरेको हो ।

गत भदौ १० गते हिमताल विस्फोटका कारण रसुवा, नुवाकोट, धादिङ र चितवन जिल्लालगायत क्षेत्रमा भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको ठूलो धनजनको क्षतिप्रति गाउँपालिकाले गहिरो दुःख व्यक्त गरेको छ ।

गाउँपालिकाले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककुल परिवारजनमा समवेदना प्रकट गरेको छ । साथै, बेपत्ताको खोजी, उद्धार, घाइतेको उपचार तथा विस्थापितको पुनःस्थापनाका लागि सरकारी निकाय, सुरक्षा निकाय, सामाजिक सङ्घसंस्था एवं निजी क्षेत्रलाई आआफ्नोतर्फबाट सहयोग गर्न अपिलसमेत गरेको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका लागि रुपन्देहीको ओमसतिया गाउँपालिकाले रु २४ लाख १७ हजार ९०० सहयोग गरेको छ ।

गाउँपालिकाले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुनेगरी उपलब्ध गराएको हो । बाढीबाट विभिन्न जिल्लामा जनधनको क्षति भएकाले प्रभावितलाई सहयोग पुर्याउने उद्देश्यले रकम सङ्कलन गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, कार्यपालिका सदस्यलगायत निर्वाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी तथा सामुदायिक विद्यालयका शिक्षक, कर्मचारीबाट रकम सङ्कलन गरिएको हो ।

गाउँपालिकाले विपद्मा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली तथा घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाएको छ ।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेकाले आफ्नो तहबाट योगदान गरिएको गाउँपालिकाले जनाएको छ ।

कपिलवस्तु कारागारका कैदीबन्दीले प्रधानमन्त्री विपद् राहत कोषमा एक लाख एक हजार १११ रुपैयाँ संकलन गरेका छन् । कारागारमा रहेका ४२२ कैदीबन्दीले विपद्मा सहयोग गर्न चन्दा सङ्कलन गरेका थिए ।

विपद्को समयमा आफूहरू पनि प्रभावित नागरिकको पीडामा साथ दिन चाहेको भन्दै बन्दीले व्यक्तिगत रूपमा प्राप्त हुने खर्चबाट रकम छुट्याएर सहयोग गरेको कारागार प्रशासनले जनाएको छ ।

बन्दीहरूले पीडितको राहत तथा उद्धारका लागि उक्त रकम आफैँमा सङ्कलन गरेर प्रधानमन्त्री विपद् राहत कोषमा जम्मा गरेको कारागार प्रमुख मानबहादुर सारुले बताए ।

रसुवाको भोटेकोशीमा आएको भीषण बाढी ठूलो जनधनको क्षति भएको छ । कैदीबन्दीले पैसा जम्मा गरेको भौचर प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमलाई हस्तन्तरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्