Logo
Logo

प्रधानमन्त्रीका प्रेस सल्लाहकार कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियार नेपाली कांग्रेसको १४ औ महाधिवेशनका लागि काठमाडौं क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

हिजो भएको अधिवेशनबाट परियार सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि निर्वाचित भएका हुन् ।

लामो समय पत्रकारिता गरेको परियार यसअघि देउवा प्रधानमन्त्री हुदा पनि प्रेस सल्लाहकारको रुपमा काम गरेका थिए । अहिले पनि प्रेसको जिम्मेवारी उनले नै सम्हालेका छन् । तनहुँ स्थानीय घर भएपनि पछिल्लो १० बर्षदेखि पार्टी राजनीतिमा उनी काठमाडौं क्षेत्र नम्बर–६ मा केन्द्रित थिए ।

समाजशास्त्रमा स्नातकोत्तर परियारले अमेरिकाको ओहायो विश्वविद्यालयबाट पत्रकारिता अध्ययन गरेका छन् । पछिल्लो समय उनी चुनावी अभियानको रणनीतिकारका रुपमा पनि सक्रिय थिए । सात वटै प्रदेशमा भोटर्स क्लव गठन गरेर अभियानको रणनीतिको विषयमा काम गर्दै आएका थिए ।

परियारले सन् २०१३ मा थम्सन फाउण्डेशन बेलायतबाट खोज पत्रकारितको पुरस्कारसमेत जितेका थिए । समय साप्ताहिक, राजधानी दैनिक, नागरिक दैनिक र अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकमा आवद्ध रही लामो समय पत्रकारिता गरेका परियार पछिल्लो समय काठमाडौं प्रेश अनलाइनको प्रबन्ध सम्पादकमा क्रियाशिल थिए ।

प्रतिक्रिया दिनुहोस्