Logo
Logo

माओवादीद्वारा पालिकामा सर्वसम्मत नेतृत्व चयन


2.8k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले देशभरका पालिकमा नयाँ नेतृत्व चयनका लागि सम्मेलन गरेको छ । माओवादीले शनिबारबाट ७५३ वटा स्थानीय तहको पालिका सम्मेलनको आयोजना गरेको हो ।

पालिकामा नयाँ नेतृत्वको लागि माओवादीले अधिकांश स्थानमा सर्वसम्मत नेतृत्व चयन गरेको माओवादी केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । केही स्थानमा भने कडा तर स्वच्च प्रतिस्पर्धामार्फत नेतृत्व चयन भइरहेको सचिव ढकालले बताए ।

अधिकांश पालिकामा शनिबार नै सर्वसम्मत नेतृत्व चयन गरिएको तर केही स्थानहरुमा आज पनि नेतृत्व चयन हुने उनको भनाई छ । माओवादी केन्द्रले सम्पर्क समन्वय समिति र विशेष समितिसमेत गरी कूल ७७६ वटा पालिका स्तरीय सम्मेलन आयोजना गरेको हो ।

शनिबार पालिकासम्मेलनलाई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भर्चुअल’ सबै पालिकालाई एकैपटक सम्बोधन गरेका थिए । सम्मेलनले प्रदेश सम्मेलनका लागि प्रतिनिधिसमेत चयन गर्ने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले बताए । माओवादीले यही मङ्सिर २५ गतेका लागि प्रदेश सम्मेलनको आयोजना गरेको छ । त्यस्तै माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन तय गरेको छ ।

पार्टी सङ्गठनलाई एउटा निश्चित विधि र पद्धतिअनुसार अगाडि वढाउने उद्देश्यले पार्टी संरचनाभित्रै आन्तरिक निर्वाचनलाई पनि स्वीकार गरिएको छ । सोहीअनुसार यही मंसिर ४ गते सबै वडाको सम्मेलन गरी नयाँ नेतृत्वसमेत चयन भइसकेको छ ।

माओवादीले वडा सम्मेलन, पालिका सम्मेलन, प्रदेश सम्मेलन गरेर राष्ट्रिय सम्मेलनमा केन्द्रीत हुने गरी नीति र विधि तय गरेको गरेको जनाएको छ । माओवादीले पार्टीले विधानको ब्यवस्थाअनुसार, निर्वाचन आयोग गठन गरिसकेपछि निर्वाचन निर्देशिका, आचारसंहितासमेत तय गरेको छ । प्रदेशस्तरका सबै निर्वाचन समिति एक महिना अगाडि नै गठन भएका थिए ।

पालिका सम्मेलनका लागि निर्वाचन समितिमा रहेर काम गर्नेलाई केन्द्रीय तहबाटै प्रशिक्षण दिई सबै स्थानीय तहमा पठाइसकिएको छ । वडा सम्मेलनमा निर्वाचित भएका प्रतिनिधिले विधानमा भएको व्यवस्थाअनुसार ३५ प्रतिशत महिला, २० प्रतिशत युवा, १५ प्रतिशत दलित र पाँच प्रतिशत मुश्लिमको प्रतिनिधित्व सुनिश्चित हुनेगरी नेतृत्व चयन गर्ने माओवादीको तयारी छ ।

वडाबाट निर्वाचित भएका प्रतिनिधिका आधारमा गाउँपालिकामा १ सय ५० जनाका दरले सहभागी हुनेछन् । यस्तै नगरमा २ सय, उपमहानगरमा ३ सय र महानगरमा ४ सय प्रतिनिधिको उपस्थितीमा अधिवेशन हुने प्रमुख श्रेष्ठले जानकारी दिए । सबै पालिका अधिवेशनलाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि माओवादीले विशेष परिपत्र गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्