काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालमै मोबाइल उत्पादन गर्न मोबाइल व्यवसायीलाई आग्रह गरेका छन् । बुधबार नेपाल मोबाइल वितरक संघको महाधिवेशनलाई उदघाटन गर्दै अर्थमन्त्री शर्माले यसका लागि आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताए ।

अर्थमन्त्री शर्माले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) तत्काल लागू गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको जानकारी दिए । उनले अवैध रुपमा हुने कारोबार र राजश्व चुहावट रोक्न सरकार कडा रुपमा प्रस्तुत हुने समेत बताए ।
एमडीएमएस गत साउनदेखि नै लागू गर्ने घोषणा गरिएको थियो । तर, अझै लागू हुन सकेको छैन । ठूलो मात्रामा अवैध मोबाइल भित्रिने क्रम नरोकिएको भन्दै व्यवसायीहरुले एमडीएमएस लागू तत्कालै गर्नुपर्ने बताए ।












