Logo
Logo

उपत्यकामा दुई सय गुन्डा, अधिकांशलाई राजनीतिक संरक्षण



काठमाडौं । प्रहरीले हालै सार्वजनिक गरेको एक विवरणअनुसार उपत्यकाका करिब दुई सय जना गुन्डागर्दीमा सक्रिय छन् । प्रहरी निगरानीमा रहेका उनीहरु सबै जसो राजनीतिक दलमा आबद्ध छन् ।

काठमाडौंमा मात्रै १३३, ललितपुरमा ३४ र भक्तपुरमा २४ जना गुण्डागर्दीमा संलग्न रहेको प्रहरी दाबी छ । तीमध्ये पनि काठमाडौंमा मात्रै १६ जना ‘क’, ५६ जना ‘ख’ र ४० जना ‘ग’ श्रेणीका गुण्डा छन् ।

बौद्ध, गौशाला, महाराजगञ्ज र बानेश्वर क्षेत्रमा मात्रै ६५ गुण्डा सक्रिय रहेको प्रहरी स्रोत बताउँछ । तीमध्ये २२ जना नेपाली कांग्रेससँग जोडिएका छन् । १६ जना नेकपा एमाले, दुई माओवादी र एक जना राप्रपामा छन् । दावा लामा, विष्णु लामा, सूर्य लामा, बुद्ध लामा, विकास लामा, मोहन लामा, शंकर श्रेष्ठ, विकास राई, दिनेश राई, दिलु लामा, झिंगे भनिने सञ्जय लामा लगायतका व्यक्तिहरू कांग्रेससँग आवद्ध छन् ।

चाबहिल क्षेत्रका पुराना डन राजु गोर्खाली पहिला एमाले निकट थिए । अहिले कांग्रेसको महाधिबेशन प्रतिनिधि चुनिएका छन् ।

कांग्रेससँग नजिक हुनेमा टोले गुण्डादेखि व्यक्ति हत्यामा संलग्न हुनेसम्म छन् । पुराना गुण्डा नाइके राजु गोर्खाली चाहिं नेकपा एमालेसँग जोडिएका व्यक्ति हुन् ।

चाबहिललाई आधार क्षेत्र बनाएर संगठित अपराधमा संलग्न उनी २०५९ सालमा राजन लिम्बूलाई रोयल डिस्कोमा तरबार हानेर हत्या गरेको अभियोगमा जेल बसेर छुटेका हुन् ।

जोरपाटीका गुण्डा प्रकाश गोले पनि नेकपा एमालेसँग जोडिएका छन् । उनी टेन्डर, हप्ता असुली, धम्की र खुकुरी हान्ने जस्ता गतिविधिमा संलग्न रहेको प्रहरी रेकर्डले देखाउँछ ।

नारायणटारका लम्बु निमा शेर्पा, आशिष राई, महाराजगञ्जका तेजेन्द्र गुरुङ, अमृतमान लामा, अमित लामा, सूर्य गुरुङ, विशाल गुरुङ, अर्जुन गुरुङ र निरज लामा पनि एमालेसँग आबद्ध छन् ।

महाराजगञ्जका पुराना गुण्डा चक्रे मिलन भनिने मिलन गुरुङ पनि नेकपा एमालेसँग नजिक भए पनि हाल उनी सक्रिय छैनन् । उनी ठेक्कापट्टा, टेण्डर र मिटरब्याज सम्बन्धी कारोबारमा सक्रिय रहेको प्रहरी अभिलेखले देखाउँछ ।

प्रतिक्रिया दिनुहोस्