Logo
Logo

नेपाली कांग्रेसको १५औँ महाधिवेशन प्रक्रिया सुरु: आज र भोलि वडा अधिवेशन

७ असोजमा जिल्ला र १० असोजमा प्रदेश अधिवेशन हुने


0
Shares

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाअनुसार आजदेखि वडा अधिवेशन सुरु हुँदै छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार शनिबारदेखि सुरु हुने वडा अधिवेशन आइतबारसम्म सञ्चालन हुनेछ। यद्यपि, यस अधिवेशनमा १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा पक्ष भने सहभागी छैन।

पार्टी सभापति गगन थापाले १५औँ महाधिवेशनको तयारी वडा तहबाटै सुरु हुन लागेको भन्दै यसमा उत्साहपूर्वक सहभागी हुन सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्। २०८२ पुस मसान्तसम्म क्रियाशील सदस्यता नवीकरण गरेका सदस्यहरूले मात्र वडा अधिवेशनमा मतदान तथा उम्मेदवारीमा भाग लिन पाउनेछन्।

विधानअनुसार वडा अधिवेशनले एक सभापति, एक महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव निर्वाचित गर्नेछ। साथै, वडा सभापतिलाई आवश्यकताअनुसार वडा समितिमा सदस्यहरू मनोनयन गर्ने अधिकार पनि दिइएको छ। जसअनुसार गाउँपालिकाका वडा सभापतिले ५, नगरपालिका तथा उपमहानगरपालिकाका वडा सभापतिले ६ र महानगरपालिकाका वडा सभापतिले ७ जना सदस्य मनोनयन गर्न पाउनेछन्।

वडा समितिमा कम्तीमा एकतिहाइ महिला सदस्य अनिवार्य हुनुपर्ने व्यवस्था छ। साथै, समावेशी सिद्धान्तलाई आत्मसात् गर्दै सबै समुदाय, अल्पसंख्यक, अपांगता भएका व्यक्ति र युवाको प्रतिनिधित्व सुनिश्चित हुने गरी क्रियाशील सदस्यहरूमध्येबाटै वडा सदस्य मनोनयन गर्नुपर्ने वैधानिक व्यवस्था रहेको छ।

असोज ३ र ४ गते हुने वडा तहको निर्वाचन सम्पन्न गर्न पार्टीले ७७ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइसकेको छ। खटाइएका अधिकृतहरूले जिल्ला तथा स्थानीय तहका जिम्मेवार पदाधिकारीहरूसँग आवश्यक छलफल गरी वडा तहमा मतदान अधिकृत तोक्ने लगायतका सम्पूर्ण तयारी पूरा गरिसकेका छन्। निर्वाचन प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन आवश्यक समन्वय भइरहेको कांग्रेसले जनाएको छ।

यिनै वडा अधिवेशनहरूबाट क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरूसमेत चयन हुनेछन्। महाधिवेशन कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन सम्पन्न भएपछि असोज ७ गते जिल्ला र असोज १० गते प्रदेश अधिवेशन हुनेछ। त्यसलगत्तै असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।

प्रतिक्रिया दिनुहोस्