Logo
Logo

सुदूरपश्चिम ओमिक्रोनको उच्च जोखिममा



धनगढी । सुदूरपश्चिम प्रदेश कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को उच्च जोखिममा रहेको छ । खुल्ला सीमानाकाका कारण सुदूरपश्चिम ओमिक्रोनको उच्च जोखिममा रहेको चिकित्सकहरु बताएका हुन् ।

भारतमा ओमिक्रोनको संक्रमण देखिएपछि रोजगारीका लागि भारतका विभिन्न सहरहरुका गएका नेपालीहरु घर फर्किने क्रम बढ्दै गएपछि सुदूरपश्चिम ओमिक्रोनको उच्च जोखिममा रहेको हो ।

सुदूरपश्चिमका मुख्य सीमानाका कैलाली र कञ्चनपुरको गौरीफन्टा, कञ्चनपुरको गड्डाचौकी, बैतडीको पुलघाट नाका, दार्चुलाको झुलाघाट नाकाबाट दैनिक हजारौं सुदूरपश्चिमेलीहरु घर फर्किरहेका छन । स्वास्थ्य सुरक्षाका मापडण्ड नअपनाइ स्वदेश फर्किएकाहरुबाट ओमिक्रोनको संक्रमण फैलन सक्ने स्वस्थ्यकर्मीहरु बताउँछन ।

सीमानाकामा हेल्थ डेस्क राखिएको भएपनि प्रभावकारी नहुँदा र नेपाल भित्रिएकाहरुले स्वास्थ्य सुरक्षाका मापडण्ड नअपनाउँदा सुदूरपश्चिम ओमिक्रोनको उच्च जोखिममा छ ।

५८ प्रतिशतले कोरोनाविरुद्धको खोप पाएनन्

सुदूरपश्चिमका ५८ प्रतिशत नागरिकहरुले कोरोनाविरुद्धको खोप लगाउन पाएका छैन । प्रदेशमा लक्षित उमेर समूहका ४२ प्रतिशत अर्थात ७ लाख ५१ हजार ८११ नागरिकले कोरोनाविरुद्धको पूर्ण मात्राको खोप पाइसकेका छन् । ५८ प्रतिशत नागरिक अझसम्म पनि कोरोना खोपको पहुँचमा पुग्न सकेका छैनन् ।

लक्षित उमेर समूहका ५५ प्रतिशत अर्थात नौं लाख छ हजार १७४ व्यक्तिले पहिलो मात्राको खोप लगाइसकेका छन् । १८ वर्ष उमेर माथिका नागरिकलाई लक्षित समूहमा राखिएको छ । प्रदेशमा सो वर्ष उमेर समूहभन्दा माथिको जनसंख्या १९ लाख छ ।
सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अहिले प्रदेशमा खोपको उपलब्धता पर्याप्त रहेकोले खोप दिने कार्य नियमित रुपमा चलिरहेको बताए । उनले भने, ‘खोपको पहुँचमा सबै नागरिकलाई पुगाउनका लागि प्रदेश सरकारले विशेष रणनीति बनाएको छ । सबैलाई कोरोनाबिरुद्धको खोप लगाइने छ ।’

प्रदेशका १२ देखि १७ उमेर समूहका बालबालिकालाई फाइजर र मोडर्ना खोप दिने तयारी गरिएको कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीले भने, ‘आउने पुस महिनाबाट कैलाली र डडेल्धुराका १२ देखि १७ वर्षसम्मका बालबालिकालाई फाइजर खोप र अन्य सात जिल्लाका बालबालिकालाई मोडर्ना खोप लगाइने छ ।’

पछिल्लो समय राजनीतिक दलहरुका कार्यक्रममा भइरहेको भीडभाडले कोरोनाको जोखिम बढ्ने खतरा देखिएको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता कार्कीले कोरोनाको नयाँ रुप ओमिक्रोनको सम्भावित जोखिमको रोकथामका लागि सीमानाकालाई थप व्यवस्थित गर्दै भित्रिने नागरिकको स्वास्थ्य जाँच कार्यका साथै खोप सेवालाई निरन्तरता दिइएको बताए । उनले भने, ‘सीमानाकामा स्वास्थ्य परीक्षण गराउँदा पोजेटिभ नतिजा आएकालाई आइसोलेशन सेन्टरमा राख्ने गरिएको छ ।’

प्रदेशका कुनै पनि सीमानाकाबाट भित्रिने नागरिकमा नयाँ भेरिएन्टको कोरोना संक्रमण पुष्टि भएको छैन । कार्कीले भने, ‘सीमानाका नजिक धनगढीको बडहरा क्षेत्रमा कोरोनाका शंकास्पद बिरामीलाई राख्न निर्माणाधीन होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कुनै जोखिम देखिए उनीहरुलाई होल्डिङ सेन्टरमा राखिने छ ।’

१६ प्रतिशतले गरे नमूना परीक्षण

स्वास्थ्य निर्देशनालय दिपायलको तथ्यांक अनुसार बुधबारसम्म चार लाख १८ हजार ३३४ व्यक्तिको नमूना परीक्षण गरिएकोमा ४८ हजार १३४ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नमूना परीक्षण गरिएको यो संख्या प्रदेशको कूल जनसंख्या २५ लाख ५२ हजार ५१७ को १६ दशमलब ३८ प्रतिशत हो । नमूना परीक्षण गरिएकामध्ये ११ दशमलब पाँच प्रतिशतमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

तराईका कैलाली र कञ्चनपुरमा यो रोगको संक्रमणबाट बढी प्रभावित भएका छन् । यो रोगको संक्रमण फैलिएयता हालसम्म ६१२ जनाको मृत्यु भएको छ । गएको वैशाख जेठ महिनामा यो रोगको संक्रमण र मृत्यु दर उच्च थियो । असार महिना सुरु भएसँगै घटेको हो ।

यसैबीच सामाजिक विकास मन्त्रालयले भिडभाड हुने कार्यक्रम नगर्न, मास्क सहि तरिकाले प्रयोग गर्न, पटकपटक साबुनपानीले हात धुन, संक्रमित क्षेत्रबाट आएकालाई १० दिनसम्म क्वारेन्टिनमा बस्न र कोरोनाबिरुद्धको खोप लगाउन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्