Logo
Logo

मेगा बैंकको ११ औं बार्षिक साधारणसभा, १२.०७ प्रतिशत लाभांश पारित



काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयरसहित १२ दशमलव ०७ प्रतिशत लाभांश पारित गरेको छ ।

काठमाडौँमा मंगलबार सम्पन्न मेगा बैंकको एघारौं बार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷७८ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १२ दशमलव ०७ प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड ८८ लाख ५४ हजार २ सय ७० रुपैँया ३८ पैसा लाभांश पारित गरेको हो । त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ४६ करोड ५४ लाख ९६ हजार ४ सय ९५ रुपैँया ७६ पैसा बोनस शेयर र २ दशमलव ०७ प्रतिशतले हुन आउने रकम ३० करोड ३३ लाख ५७ हजार ७ सय ७४ रुपैंया ६२ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ ।

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ । यसैगरी, गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मुल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि साधारण सभाले सञ्चालक समितिलाई अख्तियारी दिएको छ ।

साधारण सभामा मन्तव्य राख्दै मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौँ बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए । ‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग÷व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक÷वित्तीय संस्थाहरुको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौं । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्घि गर्दै लगिने र अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौँ,’ अध्यक्ष शाहले भने, ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए । यसैगरी, काठमाडौंको विशालनगरमा आगामी तीन वर्षभित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइनेसमेत उनले बताए ।

अध्यक्ष शाहले मेगा बैंकले गरेको व्यापार प्रवद्र्धनका आधारमा प्राप्त मुनाफाबाट राष्ट्रलाई ३० प्रतिशतका दरले कर भुक्तानी गरेर राष्ट्रिय ढुकुटीलाई सम्वृद्ध बनाउँदै आएको स्मरण गरेका छन् । जसअन्तर्गत यस आर्थिक वर्ष २०७७÷७८ मा एक अर्ब एक करोड सत्र लाख २५ हजार ५७३ रुपैयाँ राजश्व दाखिला गरेको उनले बताए । उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१ प्रतिशत बढी राजश्व दाखिला गरेको छ ।

आफ्नो स्थापनाकालदेखि नै सामाजिक उत्तरदायित्व वहनलाई समुदायमा बैंक र यसको सोचलाई स्थापित गराउँदै आएको मेगा बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघिय÷प्रादेशिक वा पालिकास्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार÷उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरुको पहँुचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पु¥याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्र्तगत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडा÷पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

साधारणसभालाई सम्बोधन गर्दै मेगा बैंक नेपाल लिमिटेडकी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले बैंकको संचालन सुव्यवस्थित किसिमले परिलक्षित बाटोमा आधार शिविरहरु खडा गर्दै गन्तव्यको उचाई तर्फ अग्रसर भएको बताए । ‘हामीले कोरोनाको कहरबाट थलिएको उद्योग÷व्यवसाय र अर्थतन्त्रमा पनि सम्भावनाहरुको खोजी गर्दै व्यापार प्रवद्र्धनलाई त्यतातर्फ मोडेका छौं । जसका कारण मेगा बैंकको वित्तीय परिसचूक सन्तोषजनक रहेको छ’ सिइओ खुञ्जेलीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्