Logo
Logo

नेपाल रणनीतिमा क-कसको संलग्नता ?


693
Shares

काठमाडौं । अमेरिकी खोजमूलक पोर्टलले सन् २०२५ मा नेपालमा कुन योजनाले के के हुँदै छ भन्ने तथ्यहरू र गोप्य दस्ताबेजहरू सार्वजनिक गरेको छ । उसले नेपालमा विदेशीका लागि काम गर्ने विभिन्न आइएनजीओ र एनजीओको नाम नै उल्लेख गरी करोडौँ डलर खन्याएर भएका परियोजनाबारे पनि उल्लेख गरेको छ । युवा परियोजनाका अलावा मधेसी, जनजाति, महिला, दलित, समलिङ्गीका नाममा ठूलो धनराशि खर्च गरेर परियोजनाहरु चलाइएको र त्यसको उद्देश्य विदेशीको आफू अनुकूलको अवस्था निर्माण गर्ने हो भनी उल्लेख गरेको छ ।

उसले ९ सेप्टेम्बर २०२६ मा अर्को सनसनीपूर्ण खुलासा गर्दै नेपालमा कसरी बालेन र रवि लामिछानेसहितका नेताहरू विदेशीको स्वार्थमा तयार गरिए भन्ने दस्ताबेजमा खुलाएको छ । बालेन र रवि अमेरिकी गुप्तचर संस्थासँगको छद्म योजनामा पुरानो सत्ता पल्टाउन तयार गरिएका हुन् भनी उल्लेख नै गरेको छ । विदेशी एजेन्सीले उनीहरूलाई तयार गर्न जुन संयन्त्र परिचालन गरेको थियो त्यसका लागि विभिन्न संस्थाहरुमार्फत् धनराशिहरू खर्च भएका प्रमाणहरू समेत ग्रेजोनले खुलासा गरेको छ ।

के छ ग्रेजोनमा
अमेरिकी खोजमूलक पोर्टल ग्रेजोन डट कमले नेपालको मात्र नभई विश्वभरका राजनीतिक तथा आर्थिक गतिविधिको भित्री पाटो उजागर गर्दै आएको छ । यसपटक ग्रेजोनले नेपालसम्बन्धी रिपोर्ट बाहिर ल्यायो, जसमा प्रधानमन्त्री बालेन्द्र साहसहित एक वर्षअघि सत्ता पल्टाउन भूमिका खेल्नेहरू अमेरिकी गोप्य योजनामा बढाइएको दाबी गरिएको छ ।

ग्रेजोनले ९ सेप्टेम्बरमा प्रकाशित गरेको रिपोर्ट किट क्लारेन्वर्ग र वेयट रिटको बाइलाइनमा छ । जसमा प्रधानमन्त्री साह र उनका कतिपय सहकर्मीहरू गोप्य योजनाबाट शक्तिमा आएका हुन्, जसको प्रायोजन अमेरिकी सरकारले गरेको आरोप छ ।

ग्रेजोनले कसरी बालेन्द्र साह र रवि लामिछानेलाई शक्तिमा ल्याउन तयार गरिएको थियो भनी व्याख्या गरेको छ । उसले गोप्य दस्ताबेज चुहाएर त्यसमार्फत् यी तथ्यहरू फेला परेको भनेको छ । अमेरिकी गुप्तचर संस्था सीआइएले नै उनीहरूलाई तयार गर्न भूमिका खेलेको दाबी गरिएको छ ।

यसका लागि सीआइएको अघोषित सूचना प्राप्त गर्ने माध्यम ‘कन्सोरटियम फर इलेक्सन्स एन्ड पोलिटिकल प्रासेस स्ट्रेटथेनिङ’ (सिइपीपीएस)लाई सक्रिय बनाइएको दस्तावेजहरुले देखाएको ग्रेजोनले उल्लेख गरेको छ । सीईपीपीएसलाई अमेरिकी सरकारको नेस्नल इन्डोमेन्ट फर डेमोक्रेसी एनइडीले पैसा दिएको तथ्य खुलाएको छ ।

को को गाँसिए रणनीतिक योजनामा
ग्रेजोनले बालेन साह, रवि लामिछानेलगायतलाई तयार गर्न अमेरिकी गुप्तचर संस्था सीआईले गोप्य तरिकाले काम गर्दा एनईडी र सीईपीपीएसलाई भूमिका दिएको उल्लेख गरेको छ । यी दुवै संस्था अमेरिका र उसका विश्वासिला संस्था र व्यक्तिको अनुदानमा चल्छन् भनिएको छ । सीईपीपीएसलाई अमेरिकी सरकारले नै अनुदान दिने गरेको तथ्य खुल्छ ।

‘नेस्टल इन्डाउमेन्ट फर डेमोक्रेसी एनइडी’ अमेरिकी संस्था हो जसको उद्देश्य विश्वभर स्वतन्त्रताका लागि सहयोग गर्ने उल्लेख छ । यो संस्थाले लोकतान्त्रिक संस्थाहरूलाई मजबुत बनाउन विश्वभर कार्य गरिरहेको वेवसाइटमा भनिएको छ । यसले लोकतान्त्रिक उद्देश्यप्राप्त गर्न एकसयभन्दा बढी देशमा काम गरिरहेको उल्लेछ ।

सन् १९८३ मा स्थापना भएको यो संस्था अमेरिकाबाट सञ्चालित छ । यसको बोर्डमा अमेरिकाका शक्तिशाली व्यक्तिहरु छन् । जसमा अमेरिकाको राजनीतिक, सुरक्षा, कूटनीतिक, प्राज्ञिक र प्रशासनिक क्षेत्रमा अनुभवीहरु छन् । धार्मिक स्वतन्त्रतासम्बन्धी अमेरिकी राष्ट्रिय कमिटीका अध्यक्ष साम ब्राउनब्याक पनि यसको बोर्डमा छन् । अमेरिकी सांसद जोआकिन क्यास्ट्रो पनि छन् । यही संस्थाले चुनाव र राजनीतिक प्रक्रिया मजबुत गर्न भन्दै नेपालमा पनि अनुदान सहयोग गरेको देखिन्छ ।

एनईडी अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनको पालामा स्थापना भएयता अमेरिकाले सत्ता पल्टाउन चाहँदा सरकारविरोधी विपक्षी समूहलाई अनुदान दिने गरेको ग्रेजोनले लेखेको छ । सीआईएले राखेको उद्देश्य पूरा गर्न एनईडी बाहिरी अपरेसन चलाउने संस्थाका रूपमा सक्रिय बनाइएको विश्लेषण समेत गरेको छ ।

यही संस्थामार्फत सीआईले निकारागुवा, भेनेजुएला, युक्रेन र हैटी जस्ता देशहहरुमा सरकार अस्थिर बनाई आफ्नो रणनीति चालेको तर्क गरिएको छ । ग्रेजोनले सन् २०२५ मा नै एनईडी नेपालमा सक्रिय रहेको र युवा अभियन्ताहरुलाई रकम खन्याइरहेको रिपोर्ट सार्वजनिक गरेको थियो । नयाँ चुहिएको दस्ताबेजको हवाला दिँदै ग्रेजोनले नेपालको सन् २०२५ को सत्ता पल्टाउन भूमिका खेल्ने चर्चित व्यक्तिहरुलाई एनईडीले अनुदान दिएका समूहहरु जस्तै सीईपीपीएसमार्फत् प्रभावकारी बनाउन सहयोग गरिएको रिपोर्ट उल्लेख गरेको छ ।

एनइडीले सिइपीपीएसलाई ठूलो धनराशि दिएर तालिम दिएको र उनीहरूमध्ये अधिकांश सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद र मुख्य नेता बनेका छन् । २०८३ को चुनावमा सीईपीपीएससँग आबद्धहरू नै चुनाव जितेर आए । ग्रेजोनले बालेन नेतृत्वको सरकारलाई सीआइएको लागि बाहिरी भूमिका खेल्ने एनइडीबाट अनुमोदित भनेको छ । साहलगायत रास्वपाका मुख्य नेताहरू २०८२ को भाद्र २३ गतेको हिंसामा मुछिएको दाबी समेत गरेको छ । सुधन गुरुङ नेतृत्वको ‘हामी नेपाली’ समेत हिंसामा संलग्न भएको दस्ताबेजमा उल्लेख रहेको भनेको छ । अमेरिकी संस्था एनईडीले नेपालका युवालाई आफ्नो उद्देश्य प्राप्तिका लागि नयाँ राजनीतिक दल निर्माणमा तयार गरेको ग्रेजोनको रिपोर्टमा उल्लेख छ ।

अमेरिकी सरकारले एनइडीको अर्को निकट संस्था द इन्टरनेशनल रिपब्लिकन इस्टिच्युटलाई २ करोड डलर दिएर सन् २०१९ मा नीति संवाद जस्ता विभिन्न योजनावद्ध कार्यहरू नेपालमा गरेको ग्रेजोनको रिपोर्टमा भनिएको छ । नीति संवादका कार्यक्रमहरूले युवालाई उगै बनाउने कार्यहरू आइआरआई संस्थामार्फत गराएको भनिएको छ ।

बंगलादेशमा जस्तै नेपालमा जेनजी विद्रोह गराउन तालिम नै दिएर तयार गरिएको उल्लेख छ । सिइपीपीएसले सहयोगको सूचीमा रास्वपा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन साहका अलावा नेताहरू सागर ढकाल र सुधन गुरुङको नाम उल्लेख गरेको छ ।

उक्त दस्ताबेजमा बाहिरी अपरेसन चलाउने एनइडीले नेपालमा भावी पुस्ताका सांसद तयार गर्न ठूलो धनराशि खर्च गरेको एनइडीको दस्तावेजलाई उदृत गर्दै लेखेको छ । जसमा सम्भावित उदीयमान नेताहरू नै चयन गरी तालिम दिइएको उल्लेख छ ।

अमेरिकाले उनीहरूका लागि संयन्त्र नै बनाएर सामाजिक सञ्जाल, वाक् क्षमता, नेतृत्व विकास देखि नागरिक सम्बन्धसम्बन्धी चरणबद्ध तालिमहरू छानिएका व्यक्तिहरूमा चलाएको दस्ताबेजमा उल्लेख छ ।

ग्रोजोनका अनुसार सीइपीपीएसको दस्ताबेजमा दलित, जनजाति, मुस्लिम र मधेशीका लागि राजनीतिक प्रणालीमा पहुँच बढाउने विषय नेपालमा प्राथमिक उद्देश्यमा नै राखिएको छ । योजनाबद्ध कार्यहरूका लागि विभिन्न संस्थाहरूलाई धनराशि दिइएको थियो । मधेसी समुदायका युवालाई सत्ता परिवर्तनका लागि धरातलमा सक्रिय बनाउने गरी उल्लेख छ । उक्त दस्ताबेजमा सीइपीपीएस र आइआरआई जस्ता संस्थाले पोलिसी रिसर्च फ्रेमवर्क नै स्थापना गर्ने उल्लेख छ । जसमा काठमाडौं स्कुल अफ ल लाई स्थानीय पार्टनर बनाउने देखि नेपाल प्रशासनिक स्टाफ कलेज, समता फान्डेशन, नेपाल डेभलमपेन्ट रिसर्च इन्स्टिच्युट, सेन्टर फर लिगल रिसर्च एन्ड रिसोर्स डेभलपमेन्ट, काठमाडौं विश्वविद्यालयको स्कुल अफ आर्टसको डेभलमपेन्ट म्यानेजमेन्टसँग मिलेर कार्य गर्ने उल्लेख छ ।

सीइपीपीएस र आइआरआई जस्ता संस्था सीआइएले बाहिर कार्य गर्न सक्रिय बनाउने गरेको संस्थाका रूपमा ग्रेजोनले उल्लेख गरेको छ । कक्षा ९ देखि १० सम्म सामाजिक शिक्षा अध्यापन गराउने शिक्षकशिक्षिकाका लागि तालिम देखि पाठ्यपुस्तकसम्बन्धी विषयमा पनि निश्चित उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्ने विषय गोप्य दस्ताबेजमा छ ।

प्रतिक्रिया दिनुहोस्