Logo
Logo
माओवादी केन्द्र प्रदेश १ सम्मेलन

निर्वाचनबाट पदाधिकारी छनोटका लागि मतदान हुँदै, यस्ता छन् उम्मेदवार



विराटनगर । नेकपा माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी निर्वाचनबाट छनोट गर्न लागिएको छ । प्रदेश अध्यक्षका द्धिपक्षीय प्रतिस्पर्धा हुने भएको छ । पदाधिकारी निर्वाचनबाट छनोट गर्नका लागि आजै मतदान हुने कार्यक्रम सार्वजनिक भएको छ ।

सर्वसम्मत पदाधिकारी चयनका लागि दुई सातादेखि जारी प्रयास विफल बनेपछि प्रदेश १ को पदाधिकारी चयनका लागि चुनाव हुने निश्चित भएको हो ।

प्रदेश अध्यक्ष पदका लागि हर्कबहादुर नेम्बाङ मिक्सो (पाँचथर), र मुक्साहाङ मेन्याङ्बो (सुनसरी) बीच प्रतिष्पर्धा हुने माओवादी नेताहरुले जनाएका छन् ।

नौ पदाधिकारीका लागि यस अघि ४० जनाभन्दा बढी नेताको दाबी थियो । तर, चुनावी प्रक्रिया सुरु हुने बेलामा यो संख्या घटेको छ । अध्यक्ष पदका आकांक्षी घटे पनि अन्य पदमा दाबी गर्नेहरुको संख्या भने अझै पनि उस्तै छ ।

महिला उपाध्यक्षमा संखुवासभाकी इन्दिरा मिश्र, झापाकी सरु न्यौपाने, मोरङकी विनिता घिमिरे, धनकुटाकी धनकुमारी वि।क।लगायतले दाबी गरेका छन् । यस्तै समावेशी उपाध्यक्षमा मोरङका भोगेन्द्र यादवले दाबी गरेका छन् ।

खुल्ला उपाध्यक्षमासुनसरीको भोला बस्नेतले दाबी गरेका छन् । अध्यक्षमा दाबी गर्नेहरूमध्येबाटै उपाध्यक्षमा झर्ने सम्भावना रहेकोले दाबी गर्नेको संख्या कम रहेको माओवादी स्रोतले दाबी गरेको छ ।

सचिवमा मोरङका गणेश उप्रेती, झापाका सिपी कडरिया, सुनसरीबाट आइन्द्र विक्रम बेघा, धनकुटाबाट ऋषिराम ढुंगाना, ओखलढुंगाबाट मोहनकुमार खड्कालगायतले दाबी गरेका छन् ।

यस्तो छ निर्वाचन कार्यतालिका

माओवादी केन्द्र प्रदेश १ को पदाधिकारी चयनका लागि चुनाव हुने निश्चित भएपछि चुनावी कार्यतालिका सार्वजनिक भएको छ । मतदान आजै ७ः०५ बजेबाट सुरु हुनेछ । चुनाव हुने भएपछि निर्वाचन समितिले कार्यतालिका प्रस्तुत गरेको छ ।

जस अनुसार मतदाता नामावली ४ बजे प्रकाशन गरेको छ भने मतदातमा नामवली दाबी बिरोधको सयम ४ः ३० सम्म रहेको थियो । मतादाता नामावलीमा परेको दाबी बिरोधको सुचना प्रकाशन ४ः४० मा गर्ने कार्यतालिका प्रस्तुत गरेको थियो ।

दाबी बिरोध माथि छानबिन र निर्णय ५ बजे, अन्तिम मतदाता नामावली प्रकाशन ५ः०५, उम्मेदवारको मनोनयन पत्र दर्ता ५ः१०, मनोनयन पत्र दर्ता सुचि प्रकाशन ५ः४०, उम्मेदवारको बिरोधमा उजुरी दिने ५ः४५, उम्मेदवारको बिरोधमा उजुरीको सुचना ५ः५०, उजुरी उपर छानबिन र निर्णय ६ बजे, उम्मेदवारको नामावली पुन प्रकाशन ६ः१०, उम्मेदवारको नाम फिर्ता ६ः५०, उम्मेदवारको अन्तिम नामावली प्रकाशन ७ बजे गर्ने कार्यतालिका रहेको निर्वाचन समितिले जनाएको छ ।

मतदान सकेर ९ बजेबाट मतगणना सुरु हुने साथै आजै ११ बजे मत परिणामा घोषणा गर्ने निर्वाचन समितिद्धारा जारी कार्यतालिकामा उल्लेख छ ।

साथै निर्वाचित पदाधिकारीलाई ११ः३० मा सपथ ग्रहण गर्ने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्