Logo
Logo

मध्यराति डकैती समूहविरुद्ध प्रतिकार गर्दा गयो महिलाको ज्यान


0
Shares

काठमाडौँ । मध्यराति डकैती गर्न आएका समूहको प्रतिकार गर्दा पर्सामा एक महिलाको ज्यान गएको खुलेको छ। ज्यान गुमाउनेमा पर्साको धोबिनी गाउँपालिका–५ की ६२ वर्षीया लखरजिया देवी छिन्।

गत असोज ५ गते बिहान ८ बजेतिर दुईतले पक्की घरको दोस्रो तलाको माझ कोठामा लखरजिया मृत भेटिएकी थिइन्। घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय पोखरियाको टोली घटनास्थल पुगेको थियो।

शवको प्रकृति हेरेर हत्या भएको आशङ्कासहित प्रहरीले अनुसन्धान अघि बढाएको थियो। उनको मृत्यु असोज ५ गते राति ३ बजेतिर भएको खुलेको छ। अनुसन्धानका लागि सिनियर प्रहरी अधिकृत (सोको) को टोली र तालिमप्राप्त कुकुरसमेत घटनास्थलमा परिचालन गरिएको थियो।

घटनास्थल तथा लासजाँच मुचुल्का तयार गरी शव पोस्टमार्टमका लागि नारायणी अस्पताल, वीरगन्ज पठाइयो। परिवारले शव बुझेर दाहसंस्कार गरे पनि प्रहरीले अनुसन्धान भने जारी राखेको थियो।

अनुसन्धानका क्रममा डकैती गर्न आएको समूहले नै लखरजियाको हत्या गरेको पत्ता लाग्यो। उक्त हत्या तथा डकैतीमा संलग्न रहेको आरोपमा जिल्ला प्रहरी कार्यालय पर्साले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा पर्साको धोबिनी गाउँपालिका–५ का १८ वर्षीय चन्दनकुमार पटेल, सोही उमेरका ‘घलथरिया’ भनिने राजकपुर बैठा र १८ वर्षकै रामु पासवान छन्।

मृतकको घरबाट लुटिएको नगद तथा गरगहनासमेत बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्र मल्लले बताए। लुटिएकामध्ये २ थान सुनको चुरा चन्दनकुमारको घरबाट बरामद भएको प्रहरीले जनाएको छ।

डकैतीपछि उनीहरूले नगद र गरगहना आपसमा बाँडेका थिए। लुटिएको रकमबाट उनीहरूले पसलको ३ हजार रुपैयाँ पुरानो उधारोसमेत तिरेको पाइएको छ।

प्रहरीले राजकपुरको साथबाट ७६० रुपैयाँ नगदका साथै घटनामा प्रयोग गरिएका चक्कु, पिलास र गाडीको स्प्रिङ पत्तासमेत बरामद गरेको छ।

घटना भएको राति साढे ११ बजेतिर तीनै जना मिलेर राजकपुरको घरमा गाँजा सेवन गरेका थिए। त्यही क्रममा उनीहरूले चोरीको योजना बनाएको अनुसन्धानबाट खुलेको छ। योजनामुताबिक उनीहरू राति साढे २ बजेतिर लखरजियाको घरको पछाडिको पर्खालबाट माथि चढेका थिए।

माथिल्लो तलाको झ्यालबाट भित्र पसेर उनीहरूले स्टिलको दराज फोडी नगद र गरगहना चोरेका थिए। त्यसपछि अन्य कोठामा रहेको टिनको बाकस फुटाउँदै गर्दा लखरजियाले चाल पाइन्।

चोरी भएको आशङ्कामा माथिल्लो तलामा पुगेकी लखरजियाले प्रतिकार गर्दा उनीहरूकै आक्रमणबाट उनको ज्यान गएको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा अदालतबाट ७ दिनको म्याद लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया दिनुहोस्