काठमाडौं । अन्तर्राष्ट्रिय फुटबलमा एउटा युगको अन्त्य हुँदैछ, र त्यो अन्त्यलाई लिपिबद्ध गर्न कुनै किताब होइन, एउटा विशेष जर्सी तयार पारिएको छ । सुन्दा सामान्य लाग्ला– एउटा खेलाडीले सन्यास लिँदैछन्, उनको बिदाइ खेलका लागि एउटा नयाँ जर्सी बनाइएको छ । तर, जब कुरा लियोनेल मेस्सी र उनको अर्जेन्टिनी १० नम्बर जर्सीको आउँछ, तब यो सामान्य कपडाको टुक्रा मात्र रहँदैन, यो एउटा जिउँदो इतिहास बन्छ ।
आगामी अक्टोबर ६ मा ब्युनस आयर्सको ऐतिहासिक एस्टाडियो मोनुमेन्टल रंगशालामा बेनिनविरुद्ध जब मेस्सी मैदानमा उत्रिनेछन्, त्यो उनको २०८औँ तथा अन्तिम अन्तर्राष्ट्रिय खेल हुनेछ । सेप्टेम्बर ३० मा कोर्डोबामा बोलिभिया र अक्टोबर ३ मा बुर्किना फासोविरुद्धका खेलहरू त केवल वार्मअप मात्रै हुन् । असली ‘क्लाइमेक्स’ त अक्टोबर ६ मा हुनेछ, जहाँ २०२२ को कतार विश्वकप जित्ने पूरा टोली र उनीहरूका परिवारसामु मेस्सीले अर्जेन्टिनाको जर्सीलाई सधैँका लागि बिदा गर्नेछन् । त्यो केवल एउटा खेलाडीको बिदाइ हुनेछैन, एउटा सिंगो युगको औपचारिक अवसान हुनेछ ।
यो ऐतिहासिक पलको साक्षी बन्न एडिडास र अर्जेन्टिना फुटबल संघले तयार पारेको मेस्सीको अन्तिम जर्सी डिजाइनको हिसाबले मात्र होइन, भावनात्मक र प्रतीकात्मक हिसाबले पनि एउटा मास्टरपिस हो । फुटबलमा १० नम्बर जर्सी धेरैले लगाउँछन्, तर अर्जेन्टिनाको १० नम्बर र त्यसमाथि मेस्सीको नाम– यो आफैँमा एउटा छुट्टै ब्रान्ड हो, जसलाई कुनै विज्ञापनको जरुरत पर्दैन ।
जर्सीलाई टाढाबाट हेर्दा पछाडि पट्टि एउटा झकिझकाउ सुनौलो १० नम्बर देखिन्छ । तर, डिजाइनको असली जादु त्यसलाई नजिकबाट नियाल्दा सुरु हुन्छ । त्यो ठूलो १० नम्बरको भित्री भागमा स–साना आकृतिहरू कुँदिएका छन् । सुरुमा कुनै कलात्मक बुट्टा जस्तो देखिने ती आकृतिहरू खासमा बाख्राका सिङ हुन् । फुटबल फ्यानहरूलाई राम्रोसँग थाहा छ– गोट अर्थात् ग्रेटेस्ट अफ अल टाइम ।
एडिडासले जर्सीमा ठूला अक्षरमा गोट लेखेर हल्लाखल्ला गर्नुको साटो, १० नम्बरभित्रै सिङको सूक्ष्म आकृति लुकाएर थोरै बोलेर धेरै भन्नुको उत्कृष्ट उदाहरण पेस गरेको छ । जर्सीले मेस्सी महान् हुन् भनेर भन्दैन, तर बुझ्नेका लागि उनको महानता मज्जाले महसुस गराउँछ ।
अर्जेन्टिनाको फुटबलमा १० नम्बरको एउटा आफ्नै भारी विरासत छ । कुनै बेला यो डिएगो म्याराडोनाको पर्याय थियो । सन् १९८६ मा म्याराडोनाले जुन १० नम्बरको जादुमा अर्जेन्टिनालाई विश्वकप जिताएका थिए, २०२२ मा कतारमा मेस्सीले त्यही १० नम्बरलाई पुनः विश्व च्याम्पियन बनाए । मेस्सीको बिदाइ जर्सीमा त्यही नम्बरभित्र गोटको प्रतीक राख्नु भनेको यी दुई विशाल इतिहासलाई जोड्दै उनको महानतालाई संस्थागत गर्नु हो ।
डिजाइनको अर्को लोभलाग्दो पक्ष यसमा प्रयोग गरिएको सुनौलो रङ र राष्ट्रिय प्रतीक हुन् । जर्सीको पछाडिपट्टि मेस्सीको नामको ठिक माथि अर्जेन्टिनाको राष्ट्रिय झण्डामा रहेको ‘सोल डे मायो’ छ, जसका किरणहरू सुनौलो १० नम्बरको वरिपरि फैलिएका छन् । यसले मेस्सीलाई देशको पहिचानसँग यति गहिरोसँग जोडेको छ कि जसरी सूर्यविना दिन अधुरो हुन्छ, त्यसरी नै अब मेस्सीविना अर्जेन्टिनी फुटबलको इतिहास अधुरो रहनेछ । अगाडिको तीनतारे एएफए क्रेस्टदेखि लिएर कलर र बाहुलाको किनारासम्मको सुनौलो प्रभावले उनीप्रतिको उच्च सम्मान दर्शाउँछ ।
अनि छातीमा रहेका ती तीन तारा ? सन् १९७८ र १९८६ का ताराहरू इतिहासका सुनौला पाना थिए, तर त्यो तेस्रो तारा केवल एउटा विश्वकप उपाधि मात्र होइन । त्यो त मेस्सीको आँसु, चरम निराशा र अविश्वसनीय पुनरागमनको जिउँदो दस्तावेज हो । २०१४ को विश्वकप फाइनलको हार, २०१५ र २०१६ को कोपा अमेरिकाको फाइलनमा पनि हारे । जसले उनलाई अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको मोडसम्म पु¥याएको थियो । अन्ततः सन्यास फिर्ता लिएर मैदान फर्किएका मेस्सीले सन् २०२१ मा कोपा अमेरिका जित्दै २०२२ मा देशलाई विश्व च्याम्पियन नै बनाए। त्यसैले, त्यो तेस्रो तारा मेस्सीको त्यही कहिल्यै हार नमान्ने जिद्दीपन, अथक सङ्घर्ष र अभूतपूर्व सफलताको जीवन्त प्रतीक हो ।
यो जर्सी कुनै नयाँ सिजन वा प्रतियोगिताको सुरुवातका लागि होइन, एउटा अभूतपूर्व र लामो यात्राको बिट मार्न तयार पारिएको आर्टपिस हो । अक्टोबर ६ मा जब मेस्सी यो जर्सी लगाएर मोनुमेन्टलको मैदानमा उत्रिनेछन्, उनले केवल अर्जेन्टिनाको प्रतिनिधित्व गर्नेछैनन् । जर्सीका हरेक संकेत र धागोहरूले एउटै कुरा बोल्नेछन्– मेस्सी युग सकिँदै छ ।
तर, मेस्सीको यो बिदाइ खेलमा २०२२ को विश्वकप विजेता दुई सहयात्री पाउलो डिबाला र नाहुएल मोलिना देखिने छैनन् । कारण– इटालियन क्लब एएस रोमाले उनीहरूलाई अर्जेन्टिना जाने अनुमति नदिने निर्णय गरेको छ ।
रोमाले आफ्नो आधिकारिक भनाइमा यो निर्णयलाई ‘खेलकुद र लजिस्टिक कारण’सँग जोडेको छ । क्लबका अनुसार अर्जेन्टिना पुगेर पुनः इटाली फर्किनुपर्ने लामो अन्तरमहादेशीय यात्रा र त्यसलगत्तै हुने क्लबका महत्त्वपूर्ण खेलहरूलाई ध्यानमा राखेर डिबाला र मोलिनालाई नपठाउने निर्णय गरिएको हो । यद्यपि, क्लबले मेस्सीप्रति पूर्ण सम्मान रहेको र उनको बिदाइ विशेष रहोस् भन्ने शुभकामना भने दिएको छ ।
तर, यो निर्णयको पछाडि एउटा महत्त्वपूर्ण समयतालिका छ । डिबाला र मोलिना गएमा युरोपबाट दक्षिण अमेरिका पुग्ने र फर्कने क्रममा लामो हवाई यात्रा गर्नुपर्ने हुन्छ । रिपोर्टअनुसार उनीहरूको कुल यात्रा करिब २२ हजार किलोमिटर र झन्डै २६ घण्टाको उडानसम्म पुग्न सक्छ । फर्किएपछि उनीहरू रोमाको प्रशिक्षणमा पूर्ण रूपमा सहभागी हुन पाउने समय पनि निकै सीमित हुन्छ । त्यसपछि अक्टोबर ११ मा रोमाले कोमोको सामना गर्नुपर्नेछ भने त्यसको केही दिनलगत्तै रियल म्याड्रिडविरुद्धको खेल पनि आउँदैछ ।
त्यसैले रोमाको दृष्टिमा प्रश्न केवल एउटा मैत्रीपूर्ण खेलका लागि दुई खेलाडीलाई पठाउने कि नपठाउने भन्ने मात्र होइन । अन्तरमहादेशीय यात्राले उनीहरूको शारीरिक अवस्था र क्लबको समग्र तयारीमा पार्न सक्ने असरको पनि हो । तर, यो कुनै सामान्य राष्ट्रिय टोलीको खेल होइन । डिबाला र मोलिना दुवै मेस्सीसँग २०२२ को कतार विश्वकप जितेका सदस्य हुन् । त्यसैले उनीहरूको सम्भावित उपस्थिति खेल खेल्नका लागि मात्र थिएन, मेस्सीको राष्ट्रिय टोलीसँगको अन्तिम अध्यायमा एउटा ऐतिहासिक क्षणको साक्षी बन्नका लागि थियो । उनीहरूलाई मैदानमा खेल्नभन्दा पनि यो ऐतिहासिक बिदाइ कार्यक्रमको हिस्सेदार बन्न निम्त्याइएको थियो ।
यो निर्णय बुझ्न अर्को महत्त्वपूर्ण पक्ष फिफाको अन्तर्राष्ट्रिय खेलसम्बन्धी नियम हो । फिफाको अन्तर्राष्ट्रिय खेल क्यालेन्डरमा निश्चित अन्तर्राष्ट्रिय विन्डो हुन्छ र त्यस्तो अवस्थामा क्लबहरूले राष्ट्रिय टोलीका लागि खेलाडी अनिवार्य रूपमा रिलिज गर्नुपर्ने व्यवस्था हुन्छ । फिफाले यसबारे आफ्नो रेगुलेसन अफ द स्टाटस एण्ड ट्रान्सफर फर अफ प्लेअरस् अन्तर्गत प्रावधानहरू राखेको छ ।
अर्थात्, उनीहरूलाई ब्युनस आयर्स पठाउनु राष्ट्रिय टोलीको ’अनिवार्य खेलाडी रिलिज’को दायराभित्र पर्दैन, यो पूर्ण रूपमा क्लबको अनुमति र व्यक्तिगत निमन्त्रणामा आधारित यात्रा हो । यही कारण रोमाको निर्णय कानुनी एवं व्यावहारिक रूपमा सम्भव भएको हो । केही इटालियन मिडिया रिपोर्टअनुसार रोमाका प्रशिक्षक जियान पिएरो गास्पेरिनीले यो यात्राको निर्णय क्लब व्यवस्थापनकै हातमा छाडिदिएका थिए । अन्ततः क्लब प्रशासनले नै उनीहरूलाई अनुमति नदिने निर्णय ग¥यो ।
यसले के देखाउँछ भने, यो निर्णय केवल प्रशिक्षकको ’खेलाडी टोलीमा चाहिन्छ’ भन्ने दृष्टिकोणमा मात्र सीमित रहेन । क्लब व्यवस्थापनले यात्राको थकान, खेलतालिका र प्रतिस्पर्धात्मक जोखिमलाई समग्र रूपमा मूल्याङ्कन गरेर ठोस निर्णय लिएको हो । मेस्सीको अर्जेन्टिनी करियरको अन्तिम खेल अत्यन्तै भावनात्मक हुने निश्चित छ । तर, त्यस समारोहमा सन् २०२२ को विश्वकप विजेता टोलीका डिबाला र मोलिनाको अनुपस्थिति आफैँमा एउटा अलग्गै कथा बन्नेछ ।
डिबाला र मोलिनालाई नपठाउनु मेस्सीप्रतिको अनादरभन्दा पनि आधुनिक फुटबलमा राष्ट्रिय भावना र क्लबको व्यावसायिक दायित्वबिचको टकरावको स्पष्ट उदाहरण हो । अर्थात्, यहाँ मुख्य प्रश्न ‘रोमाले मेस्सीलाई सम्मान ग¥यो कि गरेन?’ भन्ने होइन, बरु ’खेलाडीको करियरमा क्लबको व्यावसायिक अधिकार कति र राष्ट्रिय भावनाको स्थान कति?’ भन्ने हो। यही द्वन्द्वले मेस्सीको यस ऐतिहासिक बिदाइलाई अझ बढी बहसयोग्य र रोचक बनाइदिएको छ ।














