माडौं । नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्य चयनका लागि सहमति जुटाउने प्रयास जारी रहेका बेला निर्वाचन कार्यक्रम पुन संशोधन गरिएको छ ।
यसअघि दिउँसो २ बजेदेखि उम्मेदवारी मनोनयन दर्ता र साँझ साढे ६ बजेदेखि मतदान गर्ने कार्यक्रम रहेको थियो । तर, माओवादीको केन्द्रीय निर्वाचन आयोगका संयोजक विष्णुपुकार श्रेष्ठले संशोधित कार्यतालिका सार्वजनिक गर्दै आइतबार अपरान्ह ४ देखि ६ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकेका छन् ।

त्यस्तै, मतदानको समय भने सोमबार विहान ८ देखि १ : २५ सम्मको समय तोकिएको छ । शनिबार पहिलोपटक निर्वाचन कार्यक्रम सार्वजनिक गरेको माओवादीले यो तेस्रो पटक ल्याएको निर्वाचन कार्यक्रम हो ।
यस्तै, समानुपातिकतर्फ केन्द्रीय सदस्य सहमतिबाटै चयन हुने सहमति भएको बताइएको छ । २९९ सदस्यीय केन्द्रीय समितिमध्ये १४५ जना खुलातर्फबाट र १५४ समानुपातिक पद्धतिबाट चयन हुनेछन् । समानुपातिकतर्फ ८ वटा क्लस्टर छुट्याइएको छ ।
एक नेताका अनुसार समानुपातिकतर्फ सहमतिबाटै केन्द्रीय सदस्यहरु टुंगो लगाइनेछ, र यसका लागि निर्वाचन हुने छैन । ५ वटा प्रदेशमा सहमति जुटेको र प्रदेश २ र वागमतीमा सहमतिको प्रयास भइरहेको उनको भनाइ छ ।














