Logo
Logo

जेनजी आन्दोलनका अपराधी समाउन नसके कुर्सी छोड्नुस्: ज्ञानेन्द्र शाही


0
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जी आन्दोलनका अपराधीहरुलाई कारबाही किन नगरेको ? भन्दै प्रश्न गरेका छन् । मंगलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जेन–जी आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानव अधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।

उनले अपराधी समाउन नसके कुर्सी छोड्न आग्रह गरे । सांसद शाहीले भने, ‘म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईंकै सत्तापक्ष पार्टीकी सांसद हुनुहुन्छ, जेनजी आन्दोलनको आमा अहिले रुनुभयो संसदमा । तपाईँले सरकार चलाएको ६ महिना भयो । राष्ट्रिय मानव अधिकार आयोगले कोको दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको तपाईंलाई आज ६ महिना भयो । अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? यो प्रश्न ती आमाको आँखाको आँशु पुछ्नुस् । जेनजी आन्दोलनमा जो जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस् । ’

उनले भोटेकोशी बाढीका कारण सुरुङ दुर्घटनामा फसेका नागरिकहरूको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्ति जनाए । सांसद शाहीले राज्यको स्रोत र साधनको पहुँच हुँदाहुँदै पनि उद्धारमा भएको सात दिनको ढिलाइले बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै यसलाई राज्यद्वारा गरिएको ‘हत्या’ को संज्ञा दिए ।

सांसद शाहीले राज्यसँग खरबौँको बजेट र सुरक्षा जनशक्ति भएपनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद भएको टिप्पणी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्