Logo
Logo

पोर्चुगल पठाइदिन्छु भनी चालिस लाख ठगी गर्ने दुई पक्राउ



काठमाडौँ । पोर्चुगल पठाइ दिन्छु भनी रकम ठग्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पोर्चुगल पठाइ दिने भन्दै ४० लाख रुपैयाँ ठगी गर्ने दुई जनालाई पक्राउ गरेको महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताए ।

पक्राउ पर्नेहरुमा बाग्लुङको गल्कोट नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौँको मैतीदेवी बस्दै आएका २८ वर्षका अमृत सोतीमगर र सर्लाहीको बागमती गाउँपालिका वडा नं. १ घर भई हाल ललितपुरको हसिसिद्धी बस्ने २४ वर्षका समीर कार्की रहेका छन् ।

पक्राउ परेका ती दुईले युनिवल्र्ड इन्टरनेशनल टुर्स एण्ड ट्राभल्स प्रालि सञ्चालन गरिरहेको प्रहरीले जनाएको छ । उनीहरुले वर्किङ भिषामा पोर्चुगल पठाइ दिन्छु भनी चार जनाबाट प्रतिव्यक्ति दश लाख रुपैयाँका दरले रकम संकलन गरेका थिए ।

‘पोर्चुगल पुगे पश्चात राम्रो होटल तथा कम्पनीमाकाममा लगाइ दिन्छु, मासिक एकलाख भन्दा भढी कमाई हुन्छ भनी झुक्याई प्रलोभनमा पारी दशलाखका दरले ४ जनासँग चालिस लाख रुपैयाँ लिई ठगी गरेको देखिएको छ’, प्रहरी उपरीक्षक कोइरालाले भने ।

उनले पक्राउ परेका तिनीहरुलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्