Logo
Logo

बुटवल थोक बजारमा सुन्तलाको छेलोखेलो, ग्रेडिङ्ग नहुँदा बजार मूल्य मनपरी



बुटवल । मंंसिर, पुस र माघ महिना सुन्तलाको सिजन हो । यतिखेर पश्चिम नेपालको व्यापारिक केन्द्र बुटवलको थोक बजार केन्द्रमा स्याङ्गजा, पाल्पा, गुल्मी, अर्घाखाँची जिल्लाबाट प्रसस्त सुन्तला भित्रिएको छ । तैपनि बजार व्यवस्थित हुन नसकेका कारण किसानले उचित भाउ पाउन नसकेका छैनन् ।

बजार मुल्यमा समेत एकरुपता पाइँदैन । कतिपय व्यापारीले सुन्तलाको ग्रेडिङ्ग नहुँदा र यो पटक सुन्तलाको दाना सानो फल्दा भाउ कम भएको बताउने गरेका छन् ।

बुटवलको कृषि उपज थोक बजार केन्द्रमा सुन्तला व्यापारीलाई भ्याइभ्याई छ । सुन्तला कृषकका लागि महत्वपूर्ण मानिएको बुटवल थोक बजारमा पहाडी जिल्लाबाट दैनिक पचासौँ डोका सुन्तला भित्रिने गरेको छ । गतवर्ष भन्दा यो बर्ष सुन्तलाको उत्पादन राम्रो नभएपनि भाउ राम्रो भएको थोक ब्यापारीले बताएका छन् ।

बुटवल थोकमण्डिका व्यवसायी मोहमद याकुव यो बर्ष कम सुन्तला फलेकाले सुन्तलाको भाउ राम्रो भएको बताउँछन् । उनले सुन्तलाको दाना सानो फलेको बताउँदै यहाबाट पूर्वको इटहरी, विराटनगर र पश्चिमतिर पनि जाने गरेको बताउँछन् ।

स्याङजाबाट सुन्तलाको कारोबार गर्न बुटवल आएका व्यवसायी शिव लामिछाने सरकारले बजार ब्यवस्थित गर्न नसकेको गुनासो गर्छन् ।
लामो समयदेखि बुटवलमा सुन्तलाको कारोबार गर्दै आएका थोक ब्यापारी भीमकान्त पन्थी सुन्तलाको भाउ नपाएको अवस्था नभएको बताउदै किसानले ग्रेडिङ नगर्दा समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘ठूलो सानोको बचार भाउ फरक हुन्छ, तर किसानले एउटै भाउ खोज्दा समस्या भएको हो ।’

मंसिर, पुस र माघ महिनामा मात्र थोक बजार केन्द्र बुटवलमा मात्र करिब २५ करोड बराबरको कारोबार हुने विगतको तथ्याकंंले देखाउँछ ।
हाल थोकमण्डीमा दुई दर्जन व्यवसायी सुन्तला खरिद बिक्री कारोबारमा संलग्न छन् । सरकारले कृषिको विकासमा जोड दिएको बताइरहेपनि वास्तवमा कृषि व्यवसायीले सुविधा पाउन सकेका छैनन् । सुन्तलाको बजार ब्यवस्थित नहुँदा किसानले उचित भाउ पाउन सकेका छैन भने उपभोक्ताले महँगोमा सुन्तला उपभोग गरिरहेका छन् ।

बजारमा अहिले सुन्तलाको थोक मूल्य ४० रुपैयाँदेखि साइजअनुसार ८० रुपैयाँसम्म रहेको छ । त्यस्तै खुद्रा बजारमा भने ६० देखि एक सय ३० रुपैयाँसम्म पर्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्