
काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत आजबाट आठौं चरणका खेलहरु सुरु हुँदैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरुआती दुई खेलहरु हुनेछन् । पहिलो खेलमा संकटा क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । संकटा र सातदोबाटोबीचको खेल आज दिउँसो १ बजे सुरु हुनेछ ।
संकटा लिगको तेस्रो स्थानमा रहेको छ । संकटाले ७ खेलमा १३ अंक जोडेको छ । आज सातदोबाटोलाई हराएर संकटा दोस्रो स्थानको मनाङसँग अंक बराबरी गर्न चाहन्छ।
सातदोबाटो ८ अंक जोडेर आठौं स्थानमा रहेको छ । संकटालाई हराएर सातदोबाटो शीर्ष पाँचमा उक्लन चाहन्छ । त्यस्तै दोस्रो खेलमा विभागीय टिम एपीएफ क्लब र जावलाखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
एपीएफ र जावलाखेलबीचको खेल आज अपरान्ह ४ः४५ बजे सुरु हुनेछ । एपीएफ ६ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।
जावलाखेल ७ अंक जोडेर नवौं स्थानमा रहेको छ । जावलाखेल पनि एपीएफलाई स्तब्ध पार्दै अंक तालिका सुधार्ने योजनामा हुनेछ ।











