Logo
Logo
राष्ट्रियसभा निर्वाचन– प्रदेश १

एक सांसद र दुई स्थानीय जनप्रतिनिधि खोसिए गठबन्धन हार्ने खतरा



काठमाडौं । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा प्रदेश १ मा तीन सिटका लागि सत्तारुढ गठबन्धन र प्रतिपक्षी एमालेबीच तीव्र प्रतिस्पर्धा हुँदैछ । मतभारको आधारमा अन्य प्रदेशजस्तै प्रदेश १ मा पनि सत्तारुढ गठबन्धनको जीत सुनिश्चित देखिन्छ ।

अन्य प्रदेशजस्तै प्रदश १ मा भने सत्तारुढ गठबन्धनलाई आफ्नो मतदाता होल्ड गर्न सक्नुपर्ने अवस्था भने छ । सत्तारुढ गठबन्धनबाट केही मात्रै मतदाता अनुपस्थित भए वा प्रतिपक्षी दलका उम्मेदवारलाई मतदान गरेमा एमालेका उम्मेदवार विजयी हुने सम्भावना देखिन्छ ।

सत्तारुढ गठबन्धनमा रहेका दलहरुको सबै मतदाता एकै ठाउँमा रहन नसकेको अवस्थामा एमालेलाई फाइदा पुग्न सक्छ । प्रदेश १ मा सत्तारुढ गठबन्धनमा रहेका मतदातालाई विभिन्न प्रलोभनमा पारी आफ्नो पक्षमा प्रयासमा एमाले देखिन्छ ।

निर्वाचनमा सत्तारुढ पाँच दलीय गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले प्रदेश १ मा साझा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश १ मा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले समेत गठबन्धनलाई नै सहयोग गर्नेछ । किनकि, प्रदेश १ को सत्ता गठबन्धनमा मञ्च पनि समावेश छ । तर, प्रतिपक्षी एमाले र राप्रपाको भने छुटाछुटै उम्मेदवारी परेको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता भइसकेको छ । निर्वाचन आयोगका अनुसार १९ पदका लागि आयोगको कार्यालयमा ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनमा रहेका पाँच दल एक भएपछि प्रमुख प्रतिपक्षी दल एमालेलाई चुनौती थपिएको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा महिलातर्फको रिक्त हुने एक सिटका लागि तीन जनाको उम्मेदवारी परेको छ । यस्तै, सो प्रदेशमा अपाङ्गता भएका वा अल्पसंख्यकतर्फ दुई जनाको उम्मेदवारी परेको छ भने अन्य समूहतर्फ तीन जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

प्रदेश १ मा रिक्त हुने तीन पदमा सबै गरी आठ जनाको उम्मेदवारी परेको हो । जसमा तीनै समूहबाट गरी एक÷एक जना अर्थात् कुल तीन जना निर्वाचित हुनेछन् ।

प्रदेश १ मा महिलातर्फको १ सिटका लागि सत्तारुढ गठबन्धनको एकीकृत समाजवादीबाट जयन्तीदेवी राई र प्रमुख प्रतिपक्षी एमालेबाट सुमित्रा सुवेदी र राप्रपाबाट रञ्जु प्याकुरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अपाङ्गता भएका व्यक्ति वा अल्पसंख्यकतर्फ एक सिटका लागि सत्तारुढ गठबन्धनबाट जसपाका हेमराज राई र प्रमुख प्रतिपक्षी एमालेका सोनाम गेल्जेङ शेर्पाले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी, अन्य तर्फको एक सिटका लागि सत्तारुढ गठबन्धनबाट कांग्रेसका गोपालकुमार बस्नेत, प्रमुख प्रतिपक्षी एमालेका गुरुप्रसाद बराल र राप्रपाका अमरबहादुर विष्टले उम्मेदवारी दर्ता गराएका छन् ।

कसको मतभार कति ?

प्रदेश १ मा सत्तारुढ गठबन्धनको मतभार बढी छ । प्रदेश १ मा ९२ जना सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख २ सय ७० जना छन् । सांसदहरुको मतभार ४४ सय १६ हुन्छ भने प्रमुख, उपप्रमुखहरुको मतभार ४८ सय ६० हुन्छ ।

यस आधारमा प्रदेश १ मा जम्मा मतभार ९२ सय ९४ हुन्छ । सांसदको मतभार ४८ हो भने प्रमुख र उपप्रमुखको मतभार १८ हो ।

यहाँ एमालेको ४१ सांसद र प्रमुख, उपप्रमुख १४२ जना रहेका छन् । एमालेको मतभार ४ हजार ५ सय ४२ हुन्छ । कांग्रेसको सांसद २१ र प्रमुख, उपप्रमुख ९५ जना रहेका छन् । कांग्रेसको मतभार २ हजार ७ सय १८ हुन्छ ।

माओवादी केन्द्रको सांसद १५ जना र प्रमुख, उपप्रमुख १७ जना छन् । माओवादीको मतभार १ हजार २६ हुन्छ । एकीकृत समाजवादीको सांसद संख्या १० र प्रमुख, उपप्रमुख १० जना मात्रै रहेका छन् । एकीकृत समाजवादीको मतभार ६ सय ६० हुन्छ ।

जसपाको सांसद संख्या ३ र प्रमुख, उपप्रमुखको संख्या ४ रहेको छ । जसपाको मतभार २ सय १६ हुन्छ । जसपाबाट विभाजन भएर गठन भएको लोसपाको प्रदेश १ मा सांसद र प्रमुख, उपप्रमुख शुन्य छ ।

राप्रपाको सांसद संख्या १ र उपप्रमुख, उपप्रमुखको संख्या २ रहेको छ । राप्रपाको मतभार ८४ मात्रै रहेको छ । प्रदेश १ मा मात्रै रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको सांसद १ छ । जसको मतभार ४८ हुन्छ ।

प्रदेश १ मा सत्तारुढ दलको मतभार ४ हजार ६ सय ६८ छ । यहाँ एमाले र राप्रपा मिल्दा ४ हजार ६ सय २६ मतभार हुन्छ । तैपनि सत्तारुढ दलका उम्मेदवारलाई पराजित गर्न सक्दैन । एमालेले सत्तारुढ दलबाट एक सांसद वा तीन प्रमुख, उपप्रमुख आफ्नोतर्फ ल्याए बिजयी हुनसक्छ । वा, सत्तारुढका सांसद वा प्रमुख, उपप्रमुख मतदानमा अनुपस्थित भए पनि एमालेले राप्रपासँग मिलेर बिजयी हुनसक्छ ।

स्थानीय तहका केही जनप्रतिनिधि एमालेले आफूतिर तान्न प्रयास गरिरहेको स्रोतको दावी छ । मोरङको रङ्गेली नगरपालिकाका मेयर दिलीपकुमार अग्रवाललाई एमालेले आफूतिर तान्ने प्रयास गरिरहेको दावी गरिएको छ । आगामी चुनावमा टिकट दिने आश्वासन दिएर कतिपय जनप्रतिनिधिलाई एमालेले आफूतिर तान्न खोजिरहेको स्रोत बताउँछ ।

प्रदेश १ बाट राष्ट्रियसभामा प्रतिनिधित्व गरिरहेका अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङको पदावधि सकिँदै छ । सोही ठाउँमा निर्वाचन हुन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्