Logo
Logo

पुथाउत्तरगङ्गावासी राडीपाखी कारोबार गर्न रिडीमा



रुकुमपूर्व । रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिकाका नागरिक मेला मान्न हिँडेका छन् । उनीहरु पाल्पा, अर्घाखाँची र गुल्मीको सिमानामा लाग्ने रिडी गण्डकी मेलाको लागि प्रस्थान गरेका छन् । यहाँबाट मेला भनेर हिँडे पनि उनीहरुको मुख्य उद्देश्य भनेको राडीपाखी कारोबार गर्नु हो ।

जिल्लाको पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाको विभिन्न क्षेत्रबाट आठ–दश जनाको समूह बनाइ मेलामा राडीपाखी कारोबारका लागि हिँडिसकेको छ । अहिले पुथाउत्तरगङ्गाको घुम्लिबाङ, तुपा, दमचन, तकसेरा, कोल, गर्खानी, हुकाम र भूमेको लुकुमलगायतका ठाउँबाट रिरी गण्डकीको लागि समूह बनाएर मानिस हिँडिसकेको घुम्लिबाङका विकास बुढामगरले जानकारी दिनुभयो ।

उनीहरुले राडीपाखीसँगसँगै ओखरको घार्जी पनि बिक्री वितरणका लागि लगेका छन् । रिडी गण्डकी मेलामा राडीपाखी र ओखरको घार्जीको कारोबार राम्रो हुने भएकाले पुथाउत्तरगङ्गा र भूमे गाउँपालिकाका मानिसले यसै मेलालाई लक्ष्य गरी भेडाको ऊनबाट निर्मित सामग्री तयार पार्नुका साथै ओखरको घार्जी निकालेर राख्ने गरेको उहाँले बताउनुभयो । पुथाउत्तरगङ्गा–१० घुम्लिबाङका कुदाल्नी बुढामगरका बूढाबूढी २५ थान काम्लो बोकेर रिडी गण्डकी मेलाका लागि हिँड्नुभएको छ । यस्तै रामप्रसाद बुढाले १२ राडीपाखी बोकेर हिँड्नुभएको छ । तकसेराकी सिर्जना बुढामगरले नौ पाथी ओखरको घार्जी बोकेर रिडी गण्डकीका लागि निक्लिनुभएको छ ।

सबै जना मेला मान्नेसँगसँगै आफूले निर्माण तथा उत्पादन गरेका विभिन्न सामग्री खपत हुने भएकाले पनि सामान बोकेर रिरी गण्डकी हिँड्ने धेरै पहिलेदेखिको परम्परा अहिलेसम्म चलिरहेको छ । भेडाको ऊनबाट निर्माण गरिएको प्रतिकाम्लोको मूल्य रु दुई हजारदेखि पाँच हजारसम्म पर्ने गर्छ भने बख्खुको मुख्य रु २० देखि २५ हजार पर्ने गरेको कुदाल्नी बुढामगरले बताउनुभयो । माघको १ गतेबाट सुरु हुने रिरी गण्डकी मेला ४–५ गतेसम्म चल्ने गर्छ । हप्ता दिन बढी लगाएर बाटोमा सामान बिक्री गर्दै र बचेको सामानलाई मेलामा गएर बिक्री गर्दै आएको उहाँको भनाइ छ ।

उहाँका अनुसार यहाँबाट नौ–दश जनाको धेरै समूह बनाएर गइन्छ । खाना पकाउने भाँडाकुँडा, चामल, दाल, पिठो सबै चाहिने सामग्री बोकेर जाने र बाटोमै खाना पकाएर खाने तथा जहाँ रात पर्छ त्यही बास बस्दै एक हप्तापछि रिरी गण्डकीको मेलामा पुग्ने गरेको उहाँले बताउनुभयो ।

मासिन पुथाउत्तरगङ्गाको दमचन, तुपा, टाटु, ढोरपाटन, तरामटी, फलेघर हुँदै बुर्तीबाङ पुगेर त्यहाँबाट गाडीमा चढेर मेला पुग्छन् । अहिले यहाँबाट मेला मान्ने र सामान बिक्री गर्ने उद्देश्यले हिँडेका सबै जना आफूले बेचेको सामानबाट आएको पैसाले आफू र घरपरिवारका लागि किनमेल गरेर अगामी माघको ८–९ गतेमात्र घर फर्कने गरेका छन् । विगतका वर्षमा माघको १५ मै सबै राडीपाखी र ओखरको घार्जी बोकेर रिडी गण्डकीको यात्रा तय गर्नेहरू यसपालि हिमपातका कारण एक हप्ता ढिला गरेर गएको उहाँले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्