Logo
Logo

एमाले परित्याग गर्दै नेता ठकुरी एकीकृत समाजवादी प्रवेश


49k
Shares

काठमाडौं । नेकपा एमालेमा धनाढ्य र विचौलियाहरुको राज हुन थालेको आरोप लगाउँदै गुल्मी जिल्ला कमिटीका सदस्य एवं युवा नेता राममल्ल ठकुरी पार्टी परित्याग गरी नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् ।

एकीकृत समाजवादी प्रवेश गरेका ठकुरीले एमालेमा धनाढ्य र विचौलियाहरुको हालीमुहाली रहेको आरोप लगाएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीको अडान ठिक रहेको भन्दै उनले पार्टी बिभाजनको बेला एमालेमै बस्ने निर्णय गरेका थिए ।

ठकुरीले आफू सुरुदेखी नै माधवकुमार नेपाल पक्षधर रहेको भए पनि पार्टी बिभाजनको समयमा नेपाललाई साथ नदिएर एमालेमै बस्ने बताएका थिए । तर पछिल्लो समयमा गुल्मीकै नेता एवं एमाले सचिव गोकर्ण विष्ट लगायत पार्टीका केही नेताको कार्यशैली र बिचारलाई लिएर आफू सो पार्टीमा बस्न नसक्ने निष्कर्षमा पुगेको उनले बताए ।

‘पार्टी विभाजनको समयमा एमालेका १० भाइले पार्टी एकताका लागि ठिकै गरे भन्ने लागेको थियो, तर उनीहरु विचौलिया रहेछन् भन्ने मलाई लाग्यो,’ ठकुरीले भने, ‘ती १० भाइमध्ये हाम्रो जिल्लाको नेता गोकर्ण विष्ट पनि एक हो ।’

त्यतिबेला उनीहरुले समेत हस्ताक्षर गरेर एमालेको सरकारलाई विस्थापित गरेको तर अहिले आएर विष्टले आफूलाई खाली कागजमा सही गराएको भनेर अभिव्यक्ति दिँदै आएको भन्दै ठकुरीले विष्टको त्यस्तो अभिव्यक्तिबाट आफू आश्चर्यचकित भएको बताए ।

‘उहाँजस्तो जिम्मेवार मान्छेले त्यस्तो अभिव्यक्ति दिनुहोला भन्ने लागेको थिएन,’ उनले भने, ‘आफूले गरेको कामको जिम्मेवारी र जसअपजस लिन नसक्ने नेताको पछाडि लाग्नु ठिक लागेन ।’

प्रतिक्रिया दिनुहोस्