Logo
Logo

एशियामा क्षयीकरण हुँदै अमेरिकी प्रभाव


डा. दीपेश केसी

0
Shares


अफगानिस्तानको राजधानी काबुल तालिवानले यति छिटो कब्जा गरेका थिए कि १५ अगष्ट सन् २०२१ मा अमेरिकी मिडिया र विश्लेषकहरुले त्यस घटनालाई इन्टेलिजेन्सको विफलताका रुपमा व्याख्या गरे । माइकल रुबिनले फरेन एन्ड डिफेन्स पोलिसीमा अफगानिस्तानमा तालिवानको द्रुत गतिमा कब्जालाई अमेरिकाको सैन्य मात्र नभई इन्टेलिजेन्सकै विफलता भनी लेखेका थिए ।

सम्भवत सीआइएले अफगान इतिहास र संस्कृति गलत बुझेको तर्क गरे । जो वाइडेन राष्ट्रपति हुँदाको यो घटनामा अमेरिकी विशाल सैन्य विमानले काबुल छाड्दा अफगानीहरुको भीडसहितको दृश्य चर्चामा रह्यो । विश्व राजनीतिमा अमेरिकी प्रभाव पतनतर्फ गएको घटनाका रुपमा व्याख्या भयो ।

अमेरिकाका लागि यो लज्जाको विषय बन्यो । डोनाल्ड ट्रम्पले मेक अमेरिका ग्रेट अगेन नारा लिएर चुनाव लडे । उनी जितेपनि । ट्रम्प राष्ट्रपति बनेपछि आक्रामक रणनीतिहरु अपनाउन थाले । जसमा भेनेजुएलाको बलपूर्वक सत्ता पल्टाउने घटना पनि थियो ।

क्युबाली कमाण्डो सैनिकको सुरक्षाघेरामा रहने गरेका त्यहाँका राष्ट्रपति मदुरो रातको समयमा उठाएर अमेरिका लगिए । यो घटनाले अमेरिका विश्वमा अझै प्रभावशाली छ भन्ने सन्देश प्रवाह भयो । कतिपय देशको सत्ता पल्टाउन अमेरिकी गुप्तचर निकायको योजनामा नै काम भएका गोप्य दस्तावेजहरु चुहिए । जसमध्ये ग्रेजोनले सार्वजनिक गरेको भनेको दस्तावेजमा बंगलादेश र नेपालमा सत्ता परिवर्तनमा अमेरिकी गुप्तचर निकायको भूमिका रहेको भनिएको छ ।

कतै सफ्ट पावर त कतै हार्ड पावर लगाएर अमेरिकाले सत्ता पल्टाउने या आफू अनुकूलको सत्ता स्थापित गर्ने सिलसिला नै चलायो ट्रम्पको कार्यकालमा । जुन ट्रम्पको “मेक अमेरिका ग्रेट अगेन” नारासँग सम्बन्धित देखिन्छ ।

एकपछि अर्को सत्ता पल्टाउने घटनालाई सफल बनाएर उत्साही अमेरिकाले इरानमा सैन्य हमला ग¥यो । केही घन्टामै सर्वोच्च धार्मिक नेताबाट नेतृत्व हुने गरेको इरानको सत्ता पल्टाउने अमेरिकी रणनीति असफल भयो । खमेनीसहित शक्तिशाली अधिकारीहरु हमलामा मारिएपछि ट्रम्पले सत्ता परिवर्तन भइसकेको दाबी गरे । तर, युद्ध यति लम्बियो कि अमेरिकाले दशौं अर्ब डलर गुमायो । मध्यपूर्वको सामरिक क्षेत्रहरुमा रहेका अमेरिकी सैन्य अखडाहरुमा इरानले डरलाग्दा हमलाहरु गरिरह्यो । स्ट्रेट अफ हर्मुज जलमार्गमा इरानको अवरोध र नियन्त्रण हटेन ।

अमेरिकी युद्ध प्रोपोगान्डा चलिरहे तर हर्मुजको अवरोध कायमै रह्यो । इरानमाथि हमला आज भोलि नै सकिएला भन्दा भन्दै ६ महिना बित्यो । युद्धविराम भए तर राम्ररी लागू भएन । मध्यपूर्वमा युद्ध फैलिदै गयो । स्ट्रेट अफ हर्मुजमा अमेरिकाले नियन्त्रण बनाउन खोजिरहँदा इरानको साथ पाएको यमनका हुथीहरुले लाल सागरलाई एडनको खाडी र हिन्द महासागरसँग जोड्ने स्ट्रेट अफ बाब अल मन्डपमा नियन्त्रण बढाउन थालेका छन् ।

अहिले हुथीले रणनीतिक बन्दरगाह रहेका टापुहरुमा कब्जा जमाएका छन् । यो घटनाले साउदी अरबले स्ट्रेट अफ हर्मुजको विकल्पमा तेल ढुवानी गर्ने मार्ग नै अवरुद्ध भएको छ । अमेरिकी प्रभाव रहेको साउदीले भोगिरहेको यो अवरोध मध्यपूर्वमा अमेरिकालाई परिरहेको धक्काको तस्बिर हो ।

इरान युद्धमा रुसको भूमिकाहरु लुकेको छैन । इरानले रुसबाट हतियार खरिद गर्दै आएको छ । इरानमा रुसलाई विशेष परिस्थितिमा सैन्य अखडा प्रयोग गर्ने अधिकार दिइएको छ । तर, चीनले इरान युद्धमा कुनै हतियार नचलाई जितिरहेको तर्क भइरहेको छ । युद्धका समयमा चीनका तेल ट्याँकरहरुले इरानको अवरोध खेप्नुपरेन । चिनियाँ मुद्रा युआनको प्रयोग भयो त्यहाँ ।

भारतका ट्याँकरहरु पनि हर्मुज जलमार्गबाट चले । इरान युद्धले कच्चा तेलको मूल्यवृद्धिले भने भारत र चीनलाई आर्थिक बोझ बढ्यो । उनीहरु रुससँग कच्चा तेल खरिद बढाउन वाध्य भए । अमेरिकाले भारतमाथि रुसबाट टाढिन दिएको दबाब काम लागेन । बरु भारत रुससँग झन् सम्बन्ध मजबुत बनाउन पुग्यो ।

विश्वको सबैभन्दा ठूलो लोकतन्त्रको परिचय बनाएको भारतसँग अमेरिकाको सम्बन्धमा चीसोपन आयो । ट्रम्पको टारिफले भारत रुस र चीनसँग नजिकिन वाध्य हुँदै गयो । ब्रिक्स सम्मेलनका दौरान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको महत्वपूर्ण भेटहरुबाट विश्वलाई सन्देश दिए । पुटिन र सी चिनफिङसँग हाँसो र हातेमालोको तस्बिरले भारतको रुससँगको बढ्दो सामिप्यता विश्वसामु अझ प्रष्ट भयो ।
मोदीले विश्व व्यवस्थामा आएको परिवर्तनबारे बोले । जुन अमेरिका र बेलायतको पुरानै विश्व व्यवस्था कायमै राख्ने रणनीतिभन्दा भिन्न हो । ब्रिक्सको आयोजनापछि भारतप्रति अमेरिका झन् कठोर बनेको छ टारिफ रणनीतिका माध्यमले । अमेरिकाको यही रणनीतिका कारण भारत परम्परागत प्रतिष्पर्धी चीनसँग सम्बन्ध सुदृढ बनाइरहेछ । दुई देशबीच उच्चस्तरीय भ्रमण र सहमतिहरु बढिरहेका छन् ।

अमेरिकाले एशियामा जापान, दक्षिण कोरिया जस्ता देशहरुमा प्रभाव बचाइराख्दा मित्रहरु टाढा बनाउँदै गएको छ । पाकिस्तानसँगको विशेष सम्बन्ध भारतलाई चिढ्याउने खालको छ । जसका कारण भारत अफगानिस्तानमा शासन गरिरहेका तालिवानसँग सम्बन्ध बढाउने परिस्थितिमा पुगेको छ । भारतको वरपरका देशहरुको सत्ता परिवर्तनका पछाडि अमेरिकाको हात रहेका रिपोर्टहरु धमाधम सार्वजनिक भइरहेका छन् ।

अमेरिकी पोर्टल ग्रेजोनले गोप्य दस्तावेज भनी यही तथ्य सार्वजनिक गरेको हो । भारतको कक्रोच विद्रोह मोदी सरकारलाई चुनौती दिने गरी ब्रिक्स सम्मेलनको ठिक अगाडि भएको थियो । यसमा पश्चिमा देशहरुको साथको विषय नउठेको होइन । क्षेत्रीय शक्तिहरुलाई चिढ्याउने र चुनौती दिने गरी अमेरिकाको जुन रणनीतिहरु खुलासा भइरहेका छन् यसले अमेरिकाविरोधी शक्तिहरु बढ्ने र संगठित हुने घटना विकास भइरहेको छ ।

ट्रम्पले जसरी भेनेजुएलामा मदुरोलाई नियन्त्रणमा लिएपछि सत्ता परिवर्तन भएको थियो इरानका खमेनीसहित उच्च अधिकारी मारिदिएपछि सत्ता परिवर्तन हुने ठम्याई गलत सावित भइसकेको छ । उसले एशियामा चालेका कदमहरु उसैका लागि प्रत्युत्पादक हुँदै गएका छन् ।

पाकिस्तानलाई प्रभावमा पारेर भारतमाथि रणनीतिक दबाब बढाउन खोज्दा नयाँ घटना विकास हुँदै गएको छ । चीनले विना युद्ध लडेर राजनीतिक जितहरु जितिरहेको छ । सैन्य र प्रविधिका क्षेत्रमा उसले गरेको अभूतपूर्व विकासले विश्व शक्तिको उचाइतर्फ बढाइरहेको छ । भारतले आफै अत्याधुनिक हतियारहरु निर्माण गरेर सैन्य शक्ति बढाइरहेको छ । प्रविधिमा भारतले अभूतपूर्व विकास गरेको चन्द्रमामा यानको सफल अवतरण गराएबाट नै देखिन्छ ।

अमेरिकाको टारिफ र दबाबको सामना गर्दै भारत आत्मनिर्भरताको मार्गमा बढिरहेछ । भारतसँग दूरी बढाउँदा अमेरिकाले एशियामा प्रभावको क्षय भोग्दै गएको छ । साना र कमजोर देशहरुमा बनाएको प्रभावबाट अमेरिकी शक्ति यथास्थितिमा रहेको या बढेको सतही नजर हुनसक्ला । तर, क्षेत्रीय शक्तिमा उसको प्रभाव कमजोर हुँदै गएको छ । अमेरिकाको एशियामा विगतमा जस्तो प्रभाव अब रहेन ।

रुसको पश्चिमबाट पूर्वतर्फको बढ्दो गतिविधि अमेरिकाका लागि चुनौती बन्दै गएको छ । अथाह खनिज एशियाको बजारमा पु¥याउने नयाँ जलमार्गको अभ्यासमा रुस पुगिसकेको छ । भारत र चीनसहित पूर्वी र दक्षिण एशियाका देशहरुका तीन अर्ब भन्दा बढी जनसंख्यालाई केन्द्रित गरी रुसले व्यापार बढाउन खोजिरहेछ । चीन अमेरिकाको प्रतिष्पर्धी शक्ति बन्दै गएको छ । विश्वको चौंथो धनी देश भारतले तेलसहितका कच्चा पद्धार्थ रुससँग खरिद नगर्ने दबाबको जवाफमा जस्ले सस्तो दिन्छ उसैसँग किन्छु भनिसकेको छ ।

विश्वका राजनीतिक घटनाक्रम यति द्रुत गतिमा विकास भइरहेका छन् जस्को दिशा अमेरिकी शक्तिको क्षयतर्फ छ । २१औं शताब्दी एशियाको शताब्दी बन्दै जाँदा अमेरिका सैन्य र इन्टेलिजेन्स दुवै मामलामा एशियामा विफल बन्दै गएको छ । उसका गोप्य रणनीतिहरु नै दस्तावेजसहित खुल्नु यसको प्रमाण हो ।

प्रतिक्रिया दिनुहोस्