Logo
Logo

राजनीतिबाट विदा लिन ओलीलाई योगेश भट्टराईको सुझाव


0
Shares

काठमाडौं । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओलीलाई नयाँ राजनीतिक निकासका निम्ति मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

The current image has no alternative text. The file name is: oli-yogesh.gif

जारी केन्द्रीय कमिटी बैठकमा उनले पुनर्गठन कार्यदलको प्रतिवेदन र आम जनसमुदायको धारणा अनुसार पदबाट बिदा लिन आग्रह गरेका हुन् । “…आमजनसमुदायबाट व्यक्त धारणा तथा यी दुवै प्रतिवेदनले प्रस्तुत गरेका निष्कर्षलाई गम्भीरतापूर्वक आत्मसात् गर्ने हो भने अब पार्टी नेतृत्वले नयाँ राजनीतिक निकासका लागि साहसिक निर्णय लिने बेला आएको छ,” उनको दस्ताबेजमा भनिएको छ ।

अध्यक्ष ओलीले मार्गप्रशस्त गर्नुपर्ने उनले उल्लेख गरेका छन् । नेतृत्व हस्तान्तरण कुनै व्यक्ति विशेषलाई हटाउने वा स्थापित गर्ने प्रश्नसँग सम्बन्धित नरहेको उनको भनाइ छ । “यो पार्टीको लोकतान्त्रिक संस्कार, पुस्तान्तरण, वैचारिक पुनर्जागरण र नयाँ राजनीतिक विश्वास निर्माणसँग जोडिएको ऐतिहासिक प्रश्न हो । मार्क्सवादले हामीलाई सिकाएको छ, समाज स्थिर हुँदैन, परिवर्तन निरन्तर हुन्छ ।”

उनले नेतृत्वको वास्तविक महानता पदमा अनन्तसम्म टिकिरहनेमा नहुने बताएका छन् । “आफूले निर्माण गरेको आन्दोलनलाई आफूभन्दा अगाडि लैजान सक्ने नयाँ नेतृत्व निर्माण गर्नसक्नुमा हुन्छ । एउटा पुस्ताले अर्को पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्नु कमजोरी होइन, राजनीतिक परिपक्वता र दूरदर्शिता हो,” भट्टराईले भनेका छन् ।

विचारलाई व्यक्तिभन्दा माथि र पार्टीलाई व्यक्तिको निरन्तरताभन्दा माथि राख्न सक्ने नै परिपक्व नेतृत्व हुने भट्टराईको भनाइ छ। ”फेरि नेतृत्व भनेको पदमा टिकिरहने विशेषाधिकार होइन; आन्दोलन, पार्टी र वर्गप्रतिको जिम्मेवारी पनि हो । इतिहासले व्यक्तिको निरन्तरता होइन, आन्दोलनको निरन्तरता खोजिरहेको छ,” उनले भनेका छन् ।

आमसहमतिका आधारमा नयाँ नेतृत्व चयन गरी तत्काल राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठक तथा विधान महाधिवेशन आयोजना गर्नुपर्ने धारणा माग उनको छ ।

आवश्यकताअनुसार विधान संशोधन गरी पार्टीको संगठनात्मक संरचना र नेतृत्व प्रणालीलाई समयानुकूल पुनर्व्यवस्थित गर्नुपर्नेमा जोड दिएका छन् । नयाँ राजनीतिक प्रतिवेदनमार्फत पार्टीको वैचारिक कार्यदिशा, राजनीतिक कार्यभार र संगठनात्मक प्राथमिकतालाई स्पष्ट रूपमा पुनः निर्धारण गरिनुपर्ने माग उनको छ ।

प्रतिक्रिया दिनुहोस्