Logo
Logo

मधेस आन्दोलनका शहीद परिवारलाई तीन लाखसहित सम्मान



राजविराज । मधेस सरकारले मधेस आन्दोलनका शहीद परिवारलाई सम्मान गरेको छ ।

बलिदानी दिवसको अवसरमा मधेस सरकारको आन्तरिक मामिला तथा संचार मन्त्रालय अन्तर्गत मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित एक कार्यक्रममा उनीहरुलाई तीन लख नगदसहित सम्मान गरेको हो ।

कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले सहिद परिवारका सदस्यहरूलाई तीन/तीन लाख रुपैयाँसहित सम्मानपत्रबाट सम्मान गरे ।

यस अवसरमा मधेस आन्दोलनका ५९ जना सहिदका परिवारलाई ३र३ लाख रुपैयाँका दरले प्रदान गरिएको मधेस प्रदेशका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए । यस्तै कार्यक्रममा मधेस आन्दोलनका जीउँदो सहिद मानिने पर्साका मन्सी पटेलसहित घाइते र अंगभंग भएकाहरूलाई पनि नगदसहित सम्मान गरियो । घाइते तथा अंगभंग भएका ८१ जनालाई २५ हजारदेखि ३ लाख रुपैयाँसम्म रकम वितरण गरिएको अर्थमन्त्री साहले जानकारी दिए ।

कार्यक्रममा प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेस आन्दोलनकै बलमा मुलुकमा संघीयता आएको बताए । उनले मधेस आन्दोलनका सहिद परिवारलाई मधेस सरकारले रोजगारको प्रबन्ध गरिरहेको भन्दै रोजगारबाट बञ्चित रहेका परिवारलाई भरणपोषण बापत प्रदेश सरकारले मासिक २१ हजार रुपैयाँ दिने गरी स्थायी व्यवस्था गर्न लागेको बताए ।

प्रतिक्रिया दिनुहोस्