Logo
Logo

बाजुरामा राष्ट्रिय प्रशारण लाइन जोडिने, त्रिवेणी सहकारीसँगको सम्झौता रद्द हुँदै


नन्दा थापा


बाजुरा । बाजुरामा राष्ट्रिय प्रशारण लाइन जोड्न नेपाल विद्युत प्राधिकरण तयार भएको छ । जिल्ला स्तरीय सहमतिको निर्णयलाई आधार मानेर प्राधिकरण बाजुरामा विद्युत लाइन जोड्न तयार भएको हो ।

प्राधिकरणले तीन महिना भित्र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थासँगको सम्झौता खारेज गरेर विद्युत आफ्नै स्वामित्वमा लिने पत्र विद्युत प्राधिकरण वितरण शाखा कार्यलय बाजुरालाई पठाएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराकै संयोजनमा बसेको सपर्वपक्षिय बैठकले विद्युत सेवाको प्रक्रिया माघ ७ गतेबाटै सुरु गर्ने निर्णय गरेको छ ।

नियमित विद्युतको मागसहित आन्दोलनरत बाजुरा बासीको माग सुनुवाई हुने भएपछि बाजुराबासी खुसी भएका छन् । ७ सय बढी ग्राहकलाई सेवा दिने सर्तसहित मार्तडी साना जलविद्युत केन्द्र सञ्चालनको जिम्मा त्रिवेणी सहकारीले लिएको थियो ।

२०६६ सालमा सञ्चालनको स्वामित्व लिएको त्रिवेणीसँग हाल २ हजार १ सय बढी विद्युत सेवा लिने ग्राहक रहेका छन् । दैनिक ८ सय किलोवाट क्षमताभन्दा बढीको विद्युत खपत हुने भएपनि त्रिवेणीले २ सय किलोवाट क्षमता मात्र वितरण गरिरहेको छ । जसका कारण दैनिक ५ देखि १० घण्टा विद्युत अवरुद्ध हुने समस्याबाट नागरिक आजित बनेका छन् ।

माग अनुसारको विद्युत पूर्ति गर्न नसक्ने भएपछि फिर्ता गर्न सहकारी पनि तयार देखिएको छ । प्राधिकरणले तीन महिना भित्र विद्युत सम्झौता रद्द गरी आफ्नै स्वामित्वमा सञ्चालन गर्ने प्रक्रिया सुरु गरिसकेको छ ।

प्रतिनिधी सभा सदस्य लालबहादुर थापा, प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलको उपस्थितीमा बसेको सर्वपक्षिय बैठकले सम्झौता रद्दका लागि पत्र लेखि पठाउने र राष्ट्रिय प्रशारण लाइन माघ ७ गतेबाटै नियमित आपूर्ति गर्ने कार्य प्रारम्भ गर्ने निर्णय गरेको छ ।

यस्तै त्रिवेणी सहकारी संस्थामा विद्युत प्रवाहका लागि कार्यरत कर्मचारीको व्यवस्थापनका लागि आवश्यक पहल गर्ने र अन्य खर्चको आपसी समझदारीको आधारमा त्रिवेणी सहकारी संस्थालाई उपलब्ध गराउन लेखि पठाउने निर्णय छ ।

प्राधिकरणको लाइन विस्तार गर्न प्राधिकरणले माघ ७ गतेदेखि नै त्रिवेणीले वितरण गरेको विद्युतको मिटर अंक संकलन गरि प्रक्रिया जारी रहने समयसम्मका लागि त्रिवेणीको विद्युतको लाइन काटेर प्राधिकरणको विद्युत सेवा उपभोक्तालाई दिने गरि सहमति भएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

तत्काल दक्ष प्राविधिक बोलाएर विद्युत सेवा प्रवाहका लागि भोलिदेखि नै काम थाल्ने निर्णय बाजुराली जनताका लागि सुखद भएको प्रतिनिधि सभा सदस्य लालबहादुर थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्